आमिर खान सलमानकाे बाटाेमा हिड्दै


एजेन्सी । बलिउड स्टार आमिर खानको फिल्म हेर्न दर्शकहरु आतुर हुन्छन् । फिल्मको सबै जिम्मेवारी आफ्नो काँधमा लिने मिस्टर परफेक्शनिस्ट आमिर यस तिहारको अवसरमा १९ अक्टोबरमा आफ्नो फिल्म ‘सिक्रेट सुपरस्टार’ लिएर आउँदै छन् । फिल्मको प्रमोसनमा आमिर हिजोआज निकै व्यस्त भएका छन् । प्रचारको क्रममा आमिरले रमाइलो कुरा साटेका छन् ।

‘डेक्कन क्रोनिक’लाई दिएको एक अन्तरवार्तामा आमिरले फिल्मको नाफा घाटामा आफू साथ रहने बताएका छन् । उनले भने, ‘फिल्मको जति नाफा हुन्छ म त्यसको निश्चित प्रतिशत लिन्छु । तर, मैले यो निर्णय गरेको छु की फिल्म फ्लप भयो भने आफ्नो पारिश्रमिक घटाउँछु ।’

बलिउडका दबंग स्टार सलमान खान आफ्नो फिल्म फ्लप भयो भने वितरकलाई पैसा फिर्ता गर्ने गरेका छन् । हालै उनले फिल्म ‘ट्यूबलाइट’ फ्लप भएपछि वितरकलाई ६४ करोड रुपैयाँ फिर्ता गरेका थिए । उनले त्यसअघि फिल्म ‘जय हो’ को पैसा पनि फिर्ता गरेका थिए ।

सलमानको सिको गर्दै अभिनेता रणवीर कपूरले पनि फिल्म ‘जग्गा जासुस’ फ्लप भएपछि वितरकलाई पैसा फिर्ता गर्ने बताएका थिए । आफ्नो फिल्मको जिम्मेवारी लिँदै फ्लप भए वितरकलाई क्षतिपुर्ति दिने अभ्यासमा अब आमिर खान पनि लागेका छन् । उनले नैतिक दबाबमा फिल्म फ्लप भए थोरै पारिश्रमिक लिने बताए ।

आमिरले फिल्म खेल्नु अगाडि नै एड्भान्स रकम लिने नगरेको पनि बताए । उनी भन्छन्, ‘म काम गर्छु । मेरो कामलाई मानिसले मन पराए भने मैले पैसा पाउने हो । यो एक तरिकाले काम गर्ने कलाकारको फिस लिने पुरानो तरिका हो ।’

आमिर भन्छन् की फिल्ममा दुई तीन वटा यस्तो अनुहार हुन्छन् जसको कारण दर्शकहरु हलसम्म पुग्छन् । तर, यसको अर्थ उनले अरू साथीको कामलाई स्वीकार नगरेको भने नभएको बताए । एक अन्तर्वार्तामा उनले जसको कारण फिल्म हलको सिट भरिएको छ उनको फिस अरूको तुलनामा धेरै हुने बताए ।

आमिरले भने, ‘यदि म भन्दा भोलि जायराले बढी फ्यान बनाइन् भने उनको पनि पारिश्रमिक मेरो भन्दा धेरै हुनेछ ।’

यस पटक आमिर खान फिल्म ‘सिक्रेट सुपरस्टार’ लिएर आउँदै छन् । आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण अद्वैत चन्दनले निर्देशन गरेको फिल्म ‘सिक्रेट सुपरस्टार’ मा भारतीय सामाजमा व्याप्त मुद्दाहरू उठाइएको बताइएको छ । फिल्ममा गायक बन्न चाहने एक मुस्लिम समुदायको बालिकाको कथा समेटिएको छ । ५२ वर्षका आमिर खानले फिल्ममा सङ्गीतकारको भूमिका निर्वाह गरेका छन् ।

अद्वैत चन्दनको लेखन रहेको यस फिल्ममा आमिरका अलावा जाइरा वासिम, मेहेर बीजले मुख्य भूमिका निर्वाह गरेका छन् । अमित त्रिवेदीको सङ्गीत रहेको चलचित्र आउँदो अक्टुबर १९ मा रिलिज हुँदैछ । आमिरको यस फिल्मलाई दर्शकले कति रुचाउँछन् यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 18 =