सार्वजानिक यातायातको भाडा बढ्दै

“
असाेज २३, काठमाडौँ । यातायात व्यवसायीको दबाबमा सरकारले सार्वजानिक यातायातको भाडा बढाउने तयारी थालेकाे छ । भाडा बढाउने प्रयोजनकै लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका निर्देशक प्रेमकुमार शाक्यको संयोजकत्वमा भाडा निर्धारण समिति गठन गरिएकाे छ ।
व्यवसायीले महंगी तथा अन्य शुल्क बढेको भन्दै न्यूनतम ३५ प्रतिशत भाडा बढाउनुपर्ने दबाब दिँदै आएका थिए । व्यावसायीले इन्धनको मात्रा ३५ प्रतिशतमात्रै रहेको र अन्य विषय ६५ प्रतिशत भएकाले इन्धनको मूल्य घटेको भरमा मात्रै भाडा स्थिर राख्न नसक्ने दाबी गर्दै आएका छन् ।
दसैँ अघि नै यातायात व्यावसायीले दबाब दिएर भाडा बढाउन खोजेका थिए । तर, पछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीलगायत उच्च सरकारी अधिकारी र व्यावसायीका प्रतिनिधिबीचको वार्ताबाट तत्काल भाडा नबढाउने सहमति गरिएको थियो ।
विभागले सार्वजनिक यातायात, सामान ढुवानी र मिटरमा सञ्चालन हुने ट्याक्सीको समेत भाडा बढाउने उद्देश्यले एक महिना अघि भाडा समायोजन समिति गठन गरेको थियाे ।
“








