देउवाले एउटाको मनपेट बुझाउँदा अर्को ठुस्किने !

“
काठमाडौँ,असोज २२ । अकल्पनीय वामपन्थी माओवादी–एमालेबीचको तालमेल र पार्टी एकीकरणले तर्सिएको सत्तारुढ दल नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँडको टुङगो लगाउँने भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ सिटमध्ये ८० भन्दा बढी सिट लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरूलाई दिन सहमति जनाएको छ । जसरी हुन्छ लोकतातिन्त्रक गठबन्धनमा आबद्ध दलहरूलाई चित्त बुझाएर चुनावमा होमिन लगाउँने काँग्रेसको ध्याउँन्न रहेको छ ।
लोकतान्त्रिक गठबन्धनमा आबद्ध हुने ५ दल (सङ्घीय समाजवादी फोरम, राजपा नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिक) मध्ये संघीय समाजवादी फोरम र राजपाले आफूले भने अुनसारको सिट सङ्ख्या पाएपछि तालेमल गर्न सकारात्मक देखिएका छन्। आज आइतबार प्रधानमन्त्री देउवाले यसबारेमा गठबन्धनका शीर्ष नेताहरुसँग गफिने भएका छन् ।
भर्खंरै राजपासँग चुनावी तालमेल गरेको सङ्घीय समाजवादी फोरमको गठबन्धनले काँग्रेससँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५० को हाराहारीमा सिट सङ्ख्या माग गरेको बताइएको छ । सङ्घीय समाजवादी र राजपालाई ५० को सिट दिने विषयमा काँग्रेसले सहमति जनाएपनि अन्य दलको मागमा भने हिच्किचाएको छ । राप्रपा, राप्रपा प्रजातान्त्रिक र लोकतान्त्रिक फोरमले २०÷२० सिटको सङ्ख्या दाबी गर्दै आएका छन् तर काँग्रेले १५ भन्दा बढी दिन नसकिने जवाफ फर्काएको छ।
स्रोतका अनुसार काँग्रेसले लोकतान्त्रिक फोरम र राप्रपा प्रजातान्त्रिकलाई बढीमा १५ र राप्रपालाई १२ सिटभन्दा बढी दिन नसकिने प्रस्ताव अघि बढाएको छ । यस विषयमा आज हुने छलफलले टुङ्गो लगाउँनेछ । तर, लोकतान्त्रिक फोरम र राप्रपा प्रजातान्त्रिकले प्रत्यक्षमा २० सिटकै माग गरिरहेको छ भने राप्रपाले १५ सिटका कुरा उठाइरहेको छ ।
आज जसरी भए पनि सिटको बाँडफाँड गरेर सकेसम्म राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई पनि मिल्ने सिट सङ्ख्या दिएर आफूसँगै तालमेल गर्ने लक्ष्यमा देउवा रहेका छन् । तर, अध्यक्ष केसीले देउवासँग नभई आफ्नो पहिचान मिल्ने दलसँग तालमेल गर्ने जवाफ दिइरहेका छन् । स्रोतका अनुसार ढिलो चाँडो केसी एमालेसँगै चुनावी तालमेल गर्ने छन् ।
“








