डा. केसीको अनशन: गम्भीर भएन सरकार

काठमाडौं, असोज २१ । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका प्रा. डा. गोविन्द केसीको अनशन दोस्रो दिन पनि जारी छ । माथेमा कार्यदलको सुझाबअनुसार चिकित्सा शिक्षा विधेयक संसद्बाट जस्ताको तस्तै पास हुनुपर्ने माग राखी उनले बिहीबारदेखि १३औँ अनशन सुरु गरेका हुन् ।

सांसदहरूले महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिक समितिबाट विधेयक तोडमोड गरेर पास गर्न खोजेको आरोप लगाउँदै केसी अनशन बसेका हुन् । स्रोतका अनुसार शिक्षामन्त्री गोपालमान श्रेष्ठ चिकित्सा शिक्षा विधेयक पास नगर्ने पक्षमा देखिएका छन् । उता स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल संसद्को महिला, बालबालिका समितिमा लगेर सामान्य परिमार्जन गरी पास गराउनुपर्ने बताउँछन् । लामो प्रयासपछि विधेयक आएकाले यसलाई केही परिमार्जन गरेर भए पनि पास गराउनुपर्ने उनको भनाइ छ । तर, के गर्ने भन्ने विषयमा सरकार गम्भीर छैन ।

सरकारले डा. गोविन्द केसीसँग गरेको सहमतिअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संशोधनको तयारी भने थालेको छ । शुक्रबारको संसद् बैठकमा प्रतिष्ठानको विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित भएपछि संशोधनका लागि बाटो खुला भएको हो । सो विधेयकमाथि संशोधन दर्ता गर्न तीन दिनको समय तोकिएको छ । विधेयकमा संशोधनपछि पुनः संसद्मा छलफल गरी पारित गरिनेछ ।

सो विधेयक गत २ असोजमा मन्त्रिपरिषद्बाट पारित भई संसद्मा पुगेको थियो । विधेयक पास भएपछि त्यो ऐन बन्नेछ । विधेयकमा प्रतिष्ठानमा अध्ययन गर्ने कुल संख्यामध्ये ५० प्रतिशत गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई पूर्ण रूपमा छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था छ ।

केसीका माग पूरा हुँदै छन् : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीका माग निरन्तर पूरा हुँदै गएको बताएका छन् । केसीकै मागअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक संशोधनका लागि संसद् बैठकले खुला गरेको भन्दै उनले अनशन बस्नु आवश्यक नरहेको बताए । ‘एकैपटक सबै कुरा पूरा गर्न सकिँदैन, उहाँले उठाएका माग क्रमिक रूपमा पूरा हुँदै गएका छन्,’ मन्त्री पोखरेलले नयाँ पत्रिकासँग भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *