एक सातादेखिकाे चिकित्सक संघको आन्दोलन फिर्ता

काठमाडौं, असोज १३ । नेपाल चिकित्सक संघको नेतृत्वमा चिकित्सकहरुले एक सातादेखि जारी राखेको आन्दोलन फिर्ता लिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार चिकित्सकहरु र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुबीच भएको छलफलमा चिकित्सक संघ आन्दोलन फिर्ता लिन राजी भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको रोहवरमा भएको वार्तामा सरकारले चिकित्सकहरुको सुरक्षाको प्रत्याभूति गर्ने वचन दिएको छ ।

स्वास्थ्य संस्था र चिकित्सकको सुरक्षाका लागि हदैसम्मको व्यवस्था गर्ने वचन पनि प्रधानमन्त्री देउवाले दिएका छन् ।

प्रधानमन्त्री देउवासँग भएको छलफल सहमतिमा पुगेसँगै सम्पूर्ण आन्दोलन फिर्ता लिइएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

सरकारले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएमा स्वयं चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने ऐन ल्याउन लागेको भन्दै त्यसको विरोधमा चिकित्सक संघ आन्दोलित बनेको थियो ।

एक साता लामो आन्दोलनका कारण स्वास्थ्य सेवा प्रभावित हुँदा सर्वसाधारण र बिरामी मार्कामा परेका थिए ।

चिकित्सक संघको नेतृत्वमा देशभरका सरकारी तथा निजी अस्पताल, क्लिनिक र स्वास्थ्य संस्थाको ओपीडी सेवा बन्द गरिएको थियो ।

सरकारले चाडबाडको समयमा स्वास्थ्य सेवा बन्द नगर्न गरेको आग्रहपनि बेवास्ता गर्दै चिकित्सक संघले विगत ८ दिनदेखि आन्दोलन गरिरहेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्केलगत्तै चिकित्सकहरु वार्तामा बसेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *