थाकेनन् डा.गोविन्द केसी : सरकारलाई घुडा टेकाइ छाड्ने

काठमाडौँ,असोज ९ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसी १२ औँ पटक आमरण अनसन बसेका छन् ।

सरकारले आफूहरुको माग विपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै सोमबारबाट १२ औँ पटक आमरण अनसन सुरु गरेका छन् । काठमाडौँको महाराजगंजस्थित शिक्षण अस्पतालमा आमरण अनसन बसेका उनले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन सरकारलाई बाध्य पार्न आफूले पुनः आमरण अनसन बस्नु परेको बताए ।

वरिष्ठ चिकित्सक केसीले आफूले सरकार र राजनीतिक दलहरूको मिलेमतोमा हुने भ्रष्टाचारलाई अन्त्य गरी मुलुकमा सुशासन ल्याउन र सर्वसाधारणले पनि मेडिकल शिक्षा सुलभ ढङ्गले पढन पाउनुपर्ने व्यवस्था गर्न पनि पटक पटक आमरण अनसन बस्नु परेको पनि स्मरण गराए । केसीले आफूसँग विगतमा भएका सहमति अनुसार सरकारले ३८ लाख रुपैयाँमा काठमाडौँमा र बाहिरी जिल्लाहरूमा ४२ लाख रुपैयाँमा मेडिकल कलेज पढन पाउनु पर्नेमा कम्तीमा ६५ लाख असुल्ने गरेका कारण पनि त्यस विरुद्ध पुन आन्दोलनमा जानु परेको उल्लेख गरे ।

केसीले सर्वसाधारणले समेत पढन पाउने गरी तत्काल सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्न पनि सरकारलाई दबाब दिँदै आएका छन् । सोमबार उनले माफियासँग मिलेर मेडिकल शिक्षालाई महँगो बनाउने त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्व विद्यालयका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरे ।

‘विगतमा सरकारले गरेको सहमति पनि कार्यान्वयन भएन । त्यसैले म पुन आमरणमा बस्दैछु ।’उनले भने । सरकारले लुटतन्त्रलाई प्रश्रय दिने गरी चिकित्सा शिक्षा ऐन पारित गरेलगत्तै वरिष्ठ चिकित्सक केसी आमरण अनसनमा बस्न सुरु गरेका हुन् । यसअघि उनले मुलुकमा बाढीपहिरो र डुबानको समस्या थपिएपछि ११ औँ पटकको आमरण अनसन तोडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *