मेयर ज्यू भन्छन् ‘केटाहरुले एक झापुमात्र लाएछन्’

असोज ५, स्याङ्जा । स्थानीय जनप्रतिनिधीले जनताका गुनासा तथा समस्या सुन्नु पर्दछ । झन् नगरपालिका, वडा कार्यालय, गाउँपालिकाका जनप्रतिनिधीहरु स्थानीय जनतासँग घुलमिल नभई कुनै काम गर्न सक्दैनन् । स्थानीय तहमा चुनिएर आएका जनप्रतिनिधी पार्टी भन्दा पनि सबैको साझा हुनुपर्छ । तर, स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर भने सबैको साझा हुन सकेनन् ।

स्थानीय निकायको निर्वाचनमा जितेर चापाकोट नगरपालिकाको मेयर भएका नेपाली काँग्रेसका शिवकुमार गिरीले जनताका गुनासाहरु सार्वजनिक गरेको निहुँमा एक युवालाई मुक्का बर्साउन लगाएका छन् ।

करिब डेढ महिना अघि सामाजिक सञ्जाल फेसबुकमा काम गर्न नसक्ने ‘मेयर’ भनेर टिप्पणी गरेको विषयलाई लिएर चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरीले स्थानीय युवा बन्धु घिमिरेलाई पार्टीका युवा कार्यकर्ताहरू लगाएर सोमबार कुटपिट गरेका हुन् । विवेकशील साझा पार्टीका स्याङ्जाका स्थानीय नेता समेत रहेका घिमिरे माथि उनकै गृहनगर चापाकोटमा नेपाली काँग्रेस तथा नेपाल तरुण दलका स्थानीय नेता तथा कार्यकर्ताहरूले गत साता साङ्घातिक हमला गरेका हुन् । यता त्यसको भोलिपल्ट युवासंघका जिल्ला कमिटी सदस्य शिव कुँवर माथि पनि कुटपिट भएको बताइएको छ ।

चापाकोट नगरपालिकाको भवन नजिकै नेपाल बैँकबाट निस्केर नजिकै रहेको डोटेल होटेलमा खाजा खान लाग्दा नेपाली काँग्रेस र नेपाल तरुण दलका कार्यकर्ताले सामूहिक रूपमा आक्रमण गरेको पीडित बन्धु घिमिरेले बताए । उनलाई ‘मेयरको बारेमा जे पायो त्यही लेख्छस्’ भन्दै तरुण दल नेपालका स्थानीय नेता विश्वास पुरी, जीवन गुरुङ र राजनीतिक आवरणमा गुण्डागर्दि गर्दै हिँड्ने (काठमाडौँ प्रहरीका मष्ट वाण्टेड) निर्मल रानामगर लगायतले कुटपिट गरेका हुन् ।

घटनाका मुख्य आरोपी तरुण दलका स्थानीय नेता विश्वास पुरी र गुण्डा निर्मल रानामगर फरार छन् । निर्मल रानामगर राजनीतिक आवरणमा गुण्डागर्दी गर्ने, चन्दा उठाउने जस्ता अपराधमा संलग्न भएको पाइएको इलाका प्रहरी कार्यालय रत्नपुर स्याङ्जाका प्रहरी निरिक्षक दिनेश गौतमले बताए । प्रक्राउ परेका जीवन गुरुङ माथि सार्वजनिक मुद्दा लगाइएको छ । ‘अन्य दुईलाई पनि पक्राउ गरेपछि तीनै जनालाई सार्वजनिक केसमा मुद्दा चलाईन्छ ।’ इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरिक्षक गौतमले भने ।

घटना राजनीतिक रिसिइवीका कारणले घटेको बुझिएको छ । गत साउन ७ गते भएको एक अन्तर्कृया कार्यक्रममा मेयर शिव कुमार गिरीलाई घिमिरेले सोधेको प्रश्नको विषय र विवेकशील साझा पार्टीको चापाकोटमा गठन गर्ने सिलसिलामा भएको विवादका कारण नै घिमिरे माथि आक्रमण भएको प्रारम्भिक बुझाई छ । घटनाका मुख्य आरोपी विश्वास पुरी चापाकोटका मेयर शिव कुमार गिरीका विश्वासपात्र हुन् ।

चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरीले घटनालाई सामान्य भन्दै ‘मेरो बारेमा फेसबुकमा जे पायो त्यही लेखेछ, केटाहरुले खोज्दै थिए । धेरै त हैन एक झापु चैँ खाएछ ।’ उनले मकालु खबरसँगको टेलिफोनमा भने । उनले आफूले केटाहरू प्रयोग नगरेको भन्दै ‘मेयरका बारेमा जे पायो त्यही फेसबुकमा लेखेपछि रामधुलाई भेटि हाल्छ नि’ भने । उनले घिमिरेले आफूलाई फेसबुकमा निकम्मा, काम गर्न नसक्ने र कतिपय अपशब्द पनि प्रयोग गरेको जिकिर गर्दै भने–‘मैले सक्दो गरेकै छु नि, त्यसरी मनपरी त लेख्न भएन नि ।’

मेयर पुरीले सुरुमा आफूले फेसबुक स्टाटसका बारेमा नेपाल प्रहरीको साइवर क्राइममा उजुरी गरेको बताए । तर, पछि अनकनाउँदै ‘आज सार्वजनिक बिदा भोलि गर्छु’ उनले भने । उनले सामान्य घटनालाई नेकपा एमालेले उछालेको जिकिर गरे ।

प्रहरीसँग सवारी छैन

चापाकोटमा सिङ्गो नगरपालिकाको सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीसँग एउटा गाडी पनि छैन । सवारी नहुँदा प्रहरीलाई नगरपालिकाको सुरक्षा व्यवस्थामा चुनौती थपिएको छ ।

प्रहरीले आफूसँग रहेको एउटा मात्रै भ्यान हप्तौँ देखी बिग्रेर थन्किएको र धेरै प्रहरीहरु सिमाना जोडिएको पाल्पाको रामपुर नगरपालिकामा भएकोले घटनामा संलग्नलाई पक्राउ गर्न कठिन भएको बताएको छ । प्रहरीले प्रहरी चौकी घेराउ कार्यक्रममा ब्याक फोर्सको रूपमा व्यस्त रहेको कारणले पनि आक्रमणमा संलग्नहरुलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =