तेस्रो चरणको निर्वाचन: चार स्थानको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ को विजयी ?

काठमाडौं, असोज ५ ।  प्रदेश नम्बर २ का १३६ स्थानीयका लागि सोमबार भएको तेस्रो चरणको स्थानीय निर्वाचनको जारी मतगणना अन्तर्गत अहिलेसम्म चार स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

बिहीबार बिहान प्राप्त जानकारी अनुसार रापजा, संघीय समाजवादी फोरम, माओवादी केन्द्र, र नेकपा एमालेले एक–एक स्थानीय तहमा जित हात पारेका छन् ।

राजपाले हंसपुरबाट खाता खाेल्याे

राजपाले धनुषाको हंसपुर नगरपालिकामा विजयी हासिल गर्दै प्रदेश नम्बर दुईमा पहिलो मेयर पद जितेको छ । राजपा नेपालका उम्मेदवार रामज्ञान मण्डल ३३२० मत ल्याउदै हंसपुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत पाएका थिए। निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। उनले ३२७६ मत पाइन्। २१ हजार मतदाता रहेको यो नगरपालिकामा १५ हजार ८ सय ४९ मत खसेको थियो।

सिरहाको विष्णुपुरबाट संघीय समाजवादी फोरमकाे विजयी यात्रा

यस्तै संघीय समाजवादी फोरमले सिरहाबाट खाता खोलेको छ। सिरहाको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा समाजवादी फोरमका उम्मेदवार जागेश्वर यादव विजयी भएका हुन्। उनले १ हजार ९ सय ४० मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सत्यनारायण यादवले १ हजार २ सय ८० मत ल्याएका छन्। उपाध्यक्षमा पनि समाजवादी फोरमकै अरहुलादेवी सिंह विजयी भएकी छन्। उनले २ हजार ७ मत पाएकी छन्। उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी ललितादेवी यादवले १ हजार २ सय २० मत पाएकी छन् ।

सप्तरीको सप्तकोशीमा एमाले विजयी

यसैगरि नेकपा एमालेले पनि सप्तरी जिल्लाबाट नै खाता खोलेको छ । सप्तरीको सप्तकोशी नगरपालिकामा एमालेका उम्मेदवार उतम कुमार शर्मा विजयी भएका हुन् । उनले आफ्ना निकटम प्रतिस्पर्धी माओवादीका ध्रुव कार्कीलाई हराएका हुन्।

एमालेका उम्मेदवार शर्माले ४३ सय ६१ मत ल्याउदा माओवादीका कार्कीले ३६ सय ९० मत ल्याएका छन् । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा एमालेकी आशा चौधरी ४ हजार ४ सय ६२ मत सहित विजयी भएकी हुन् ।

प्रचण्डको क्षेत्रबाट माओवादी केन्द्रको विजयी सुरुवात

यस्तै, माओवादी केन्द्रले भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रबाट विजयी खाता खोलेको छ । सिरहाको कर्जन्हा नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार गंगा पासवान मेयरमा र उपमेयरमा ज्ञानुकुमारी श्रेष्ठ विजयी भएका हुन्।

मेयरमा गंगा पासवान ४ हजार ३०९ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामदियाल महतोले ३ हजार १९० मत पाएका छन् ।

यसैगरी उपमेयरमा विजयी श्रेष्ठले ४ हजार ३१३ मत पाएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार अञ्जु रायले २ हजार ९४५ मत पाएकी छिन् ।

कर्जन्हाका ११ मध्ये ९ वटा वडामा माओवादी केन्द्र विजयी भएको छ। कर्जन्हा नगरपालिकामा कुल १५ हजार ४७४ मतदातामध्ये १२ हजार १३२ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *