चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने निर्देशन नदिएको स्वास्थ्य मन्त्रालयको दाबी

काठमाडौं, असोज ४ । उपचारका क्रममा बिरामीको मृत्यु भए चिकित्सकले नै क्षतिपूर्ति दिनुपर्ने विषयमा मन्त्रिपरिषदले विधेयक बनाउन निर्देशन नदिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलले आज मन्त्रालयमा गर्नुभएको छलफलले बाहिर प्रचारमा आएजस्तो क्षतिपूर्ति दिनुपर्ने सम्बन्धी विधेयक बनाउन मन्त्रिपरिषद्ले कुनै निर्देशन नदिएको निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद बैठकले चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने सम्बन्धी विधेयक बनाउन निर्देशन नदिई घटनाको आवश्यक अनुसन्धान तथा प्रभावकारी रुपमा व्यवस्थापन गर्न निर्देशन दिएको स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले जानकारी दिनुभयो । आफुसँग कुनै सल्लाह नगरी विभागीय मन्त्रीको अनुपस्थितिमा मन्त्रिपरिषदको बैठकले निर्देशन दिएको भन्दै स्वास्थ्य मन्त्री पोखरेलले सो विषयमा छलफल गर्न मन्त्रालयका सचिव, राज्यमन्त्री तथा मेडिकल काउन्सिलका पदाधिकारी सहितको बैठक बोलाउनु भएको थियो ।

यादवले मन्त्रालयलाई मन्त्रिपरिषदले दिएको निर्देशन तथा चिकित्सक संघको आन्दोलनका विषयमा छलफल भएको बताउनुभयो । मन्त्रिपरिषदको निर्णय विरुद्ध आन्दोलित बनेका नेपाल चिकित्सक संघले गरेको आन्दोलनको आवश्यकता नरहेको बैठकले निष्कर्ष निकालेको छ । यसैबीच नेपाल चिकित्सक संघ धरान शाखाले पनि सरकारी निर्णयको विरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =