अण्डाको मूल्य घट्यो

चितवन, ४ असोज । चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ । नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारी अनुसार एक क्रेट (३० वटा) ठुलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको छ । मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट रु २७० कायम गरिएको सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिनुभयो ।

खरिद मूल्यमा रु पाँच बढी लिएर बिक्री गर्ने चलन छ । उपभोक्ताले अण्डालाई बढी नै मूल्य तिरे पनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए । अध्यक्ष केसीका अनुसार चार महिनाअघि ठुलो अण्डाको खरिद मूल्य प्रतिक्रेट रु ३६० सम्म थियो भने मझौला अण्डाको किसानले प्रतिक्रेट रु ३३० मूल्य पाएका थिए ।

काठमाडौँबाट सर्वसधारण बाहिरिनु, सोह्र श्राद्धका कारण खपत कम हुनु, पहाडी क्षेत्रमा अण्डा पु¥याउन नसक्नु लगायतका कारण माग घटेसँगै अण्डाको मूल्य समायोजन गरिएको हो । दसैँको पूर्णिमापछि पुनः मूल्य वृद्धि हुने उहाँले बताउनुभयो ।

लागत मूल्य बढ्ने र अण्डाको मूल्य घट्दा कृषक चिन्तित बनेका छन् । लेयर्स कुखुराको चल्लाको मूल्य प्रतिगोटा रु १७० पुगेको छ । दाना, औषधि, मजदुर, ढुवानी लगायतको मूल्य बढेकाले अण्डाको हालको मूल्यले लागत धान्न मुस्किल पर्ने सङ्घका महासचिव त्रिलोचन कँडेलले बताउनुभयो । उपभोक्ता मूल्य प्रतिगोटा रु १४ रहेको छ नेपालमा हाल दैनिक २० लाख गोटासम्म अण्डा उत्पादन हुन्छ ।

चार वर्षअघि नेपालमा दैनिक २५ लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको सङ्घका अध्यक्ष केसीले बताउनुभयो । कुखुरामा देखिने घातक रोग बर्ड फ्लुको प्रकोपले किसान विस्थापित हुँदा अण्डा उत्पादन घट्दै गएको हो । जमिन खण्डीकरण हुँदै जानु र अन्य रोगको प्रकोप बढ्नुले कुखुरा पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *