सिरहामा तीन दल वडा तहमा विजयी

“
लहान, ३ असोज । सिरहामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् । लहान नगरपालिका वडा नं १ मा काँग्रेस, कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्र र भगवानपुर गाउँपालिका वडा नं १ का सङ्घीय समाजवादी फोरम नेपाल आफ्नो समूहसहित विजयी भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
लहान नगरपालिका वडा नं १ का काँग्रेसका उम्मेदवार सियाराम यादवले २९९ मत प्राप्त गरी विजयी हुनुभयो भने कर्जन्हा नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भए । यसै गरी सिरहाको भगवानपुर गाउँपालिका वडा नं १ का सङ्घीय समाजवादी फोरम नेपालका बद्रीनारायण यादव वडाध्यक्षमा विजयी भए ।
मतगणना भइरहेको सिरहाको गोलबजार र मिर्चैया नगारपालिका, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रले अग्रता कायम गरेको छ भने लहान, धनगढीमाई नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । त्यस्तै, कर्जन्हा नगरपालिकासहित विष्णुपुर र नरहा गाउँपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । सिरहाको सबैभन्दा ठुलो नगरपालिका लहान नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ ।
निर्वाचन कार्यालयले सिरहामा मतगणनास्थललाई सुरक्षित बनाएर मत गणना गरिरहेको प्रमुख निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।
“








