अटो रिक्सा र महानगरको वार्ता निष्कर्षविहीन

किशोर खनाल, भरतपुर । भरतपुर महानगरपालिकाले असोज १ गतेबाट तीन पांग्रे सवारी साधनलाई रिंगरोडमा जोरबिजोर प्रणाली लागू गरेपछि अटो रिक्सा व्यवसायीहरु सोमबार पनि विरोधमा उत्रेका छन् ।

अटो रिक्सा सञ्चालन गर्नेहरुले सोमबार पनि बिहानैदेखि सडक नै ढाकेर यातायात सञ्चालनमा अवरोध पु¥याएका थिए । भरतपुर महानगरपालिका कार्यालय अगाडि राजमार्गमै सयौँ तीन पांग्रे सवारी साधनले सडक ढाकेका थिए । अटो रिक्साहरुले सडक ढाक्दा यातायात सञ्चालनमा अवरुद्ध पुगेको थियो ।

अटो रिक्सा व्यवसायीहरुले भरतपुरको केन्द्रीय बसपार्क चोकमा पनि सडक अवरुद्ध गरेका थिए । उनीहरूले अटो रिक्सा सडकभरि तेसारेर राख्दा लामो तथा छोटो दुरीका सवारी साधन आवतजावतमा कठिनाइ भएको थियो ।

असोज १ गतेदेखि भरतपुर महानगरपालिकाले रिङरोड (पुल्चोकदेखि केन्द्रीय बसपार्क र बसपार्कदेखि आँपटारीसम्मको बाइपास सडक) मा अटो रिक्साहरुलाई जोरबिजोर प्रणाली बसालेको छ । तीन पांग्रे सवारी साधनलाई भित्री सडकमा जोरबिजोर प्रणाली अपनाइएको छैन ।

अटो रिक्सा व्यवसायीहरुले आफ्नो रोजीरोटी खोसिएको भन्दै महानगरलाई रिंगरोडमा जोरबिजोर प्रणाली खारेज गर्न दबाब दिइरहेका छन् । महानगरपालिका यस विषयमा टसको मस भएको छैन ।

सोमबार महानगरपालिका र अटो रिक्सा व्यवसायीबीच लामो समय वार्ता चल्यो । वार्ताले कुनै निष्कर्ष दिएको छैन । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीको अध्यक्षतामा बसेको वार्ता छलफलमै सीमित भयो ।

‘वार्तामा अटो रिक्सा व्यवसायीहरुले आफ्नो रोजीरोटी खोसिएको कुरा गरे, हामीले बजारलाई अव्यवस्थित, कुरुप र भद्रगोलबाट जोगाउन जोरबिजोर प्रणाली अपनाएको बतायौँ’ भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भने । उनले जोरबिजोर प्रणाली अपनाउँदैमा अटो व्यवसायीहरुको रोजीरोटी नखोसिएको बताए ।

फेरि अर्को वार्ता बस्ने गरी सोमबारको वार्ता सकिएको कार्यकारी अधिकृत जोशीको भनाइ थियो । ‘अटो व्यवसायीहरु ठुलो जमातका साथ वार्तामा सहभागी भएका थिए । ठुलो भेलामा वार्ताको टुङ्गो लाग्ने अवस्था थिएन । एउटा सानो टोली बनाएर फेरि वार्ता बसेर समस्याको टुङ्गो लगाउने निर्णय भएको छ’ कार्यकारी अधिकृत जोशीले भने, ‘अबको वार्ता पनि महानगरले आह्वान गर्छ ।’ सडक अवरुद्ध गरेर वार्ता हुँदैन भनेपछि अटो व्यवसायीहरु सडकको विरोध छोडेर वार्तामा बसेका थिए ।

कार्यकारी अधिकृत जोशीका अनुसार महानगर आफ्नो निर्णयमा अडिग हुने बताए । ‘यसमा अर्को कुनै विकल्प निस्के ठिकै छ, तर महानगर आफ्नो निर्णयमा अडिग रहन्छ’ उनले भने ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सबै पक्षसँग छलफल गरेर जोरबिजोर प्रणाली अपनाइएको हुनाले यसमा महानगर पछि नहट्ने बताइन् । मेयर दाहालका अनुसार सहरलाई सुन्दर बनाउन रिंगरोडमा मात्रै अटो रिक्साहरुको जोरबिजोर प्रणाली अपनाइएको हो ।

चितवन ट्राफिक कार्यालयका प्रमुख सन्तोप पन्तले अटो रिक्सा व्यवसायीहरुले सोमबार विरोधस्वरुप नारायणगढ र भरतपुरमा एक घण्टा सडक अवरुद्ध पारेको बताए । वार्तामा समेत बसेका ट्राफिक प्रमुख पन्तले भने, ‘वार्तामा अटो व्यवसायीहरुले जोरबिजोर प्रणाली खारेज गर्न भनेका थिए भने महानगरपालिकाले खारेज गर्न नसकिने कुरा जनाएको थियो । एकदुई दिनमा फेरि वार्ता बस्ने कुरा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *