पोखरामा नक्कली सुनबेच्ने गिरोह प्रहरीको फन्दामा


“
एन एच पौडेल, पोखरा । पोखरामा नक्कली सुन बेच्ने कार्यमा संलग्न गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। हप्ता दिन अघि कोत्रेबाट पक्राउपरेका उनीहरूबाट डेढकिलो नक्कली सुन फेला पारेपछि अनुसन्धानको क्रममा पोखरा क्षेत्रमा उनीहरूले नक्कली सुनको कारोबारमा संलग्न रहेको खुलेको प्रहरीले दाबी गरेको हो।
प्रहरीका अनुसार उनीहरूले पोखरा लेखनाथ क्षेत्रमा ठगी गरी रहेको सूचनाका आधारमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धानको टोलीले भदौ ३० गते पक्राउ गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।
नक्कली सुन कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा तनहुँ म्याग्दे गा.पा. बडा नं २ बस्ने रबिराज खनाल र जिल्ला बाग्लुङ बुर्तिबाङ २ हाल ढोरपाटन न.पा.२ सलाङकोट बस्ने छम बहादुर खत्री के.सी, लम्जुङ साविक खुदी गा.वि. स.हाल मर्स्याङदी गाउपालिका वडा नं. ३ घर भएका राजु तामाङ र सुन्दर बजार न.पा.वडा नं.८ बलथुम बस्ने प्रेम बहादुर परियार दमैलाई रहेका छन् ।
पक्राउ परेका मध्ये खनाल र खत्रीले धातुलाई सुनको जलप लगाएर १ किलो ५ सय ग्राम बनाएर १६ लाखमा बिक्री गर्ने तयारीमा थिए। घटनामा संलग्न रहेका राजु तामाङ्ग र प्रेम बहादुर परियार दमैलाई प्रहरीले नक्कली सुन बेचेको उजुरीकै आधारमा कक्राउ गरेको हो । उनीहरूले भदौ १९ गते पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २६ बुढीबजारकी सरस्वती गुरुङलाई सुनको मूर्ती भन्दै नक्कली सुनको मूर्ती करिब ७ लाखमा धितो राखेर फरार भएका थिए ।
धितो राखिएको मूर्ती लामो समय सम्म लिन नआएपछि गुरुङ आफू ठगीको चाल पाएकी थिइन्। उनले आफू ठगिएको भन्दै प्रहरीमा जाहेरी दिए पछि प्रहरीले उक्त गिरोहको खाजतलासलाई ब्यापर परेको थियो । त्यसै क्रममा प्रहरीले गिरोह मध्येका खनाल र केसी लाई १ किलो ५ सय ग्रामको नक्कली सुन सहित पक्राउ गर्न सफल भएको थियो ।
“
