भोली हुने तेस्रो चरणको निर्वाचनको सबै तयारी पूरा, कर्मचारी मतदान केन्द्रमा

काठमाडौं, असोज १ । तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनकोसबै तयारी पूरा भएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, निर्वाचन आयोगले जनाएको छ ।

मतदातालाई सहीरुपमा मत हाल्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । प्रदेश नम्बर २ मा भोलि हुने स्थानीय तहमा १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि मतदान हुँदैछ ।

निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

निर्वाचनको लागि मौन अवधि जारी रहे पनि ठाँउठाँउमा मौन अवधिको उल्लङ्घन भएको छ । प्रदेश नम्बर २ का ८ ओटै जिल्लामा देखिनेगरी चुनावी सभा तथा नारा जुलुस नभएपनि आचार संहिता विपरीत उम्मेद्वारहरुले भोट मागिरहेका छन् । साना चिया पसल तथा कोठाहरुमा आफू वा आफ्नो पक्षको उम्मेद्वारलाई भोट दिन नेताहरुले मतदातालाई आग्रह गरेका पाइएको छ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङघन गर्नेलाई कडा कारवाही गर्ने भन्दै आएपनि कारवाहीको प्रक्रिया अगाडी बढाउन नसकेको भन्दै आलोचना पनि भएको प्रदेश नम्बर २ का सामुदायिक रेडियोहरुले खबर पठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *