विश्व प्रख्यात कम्पनी एप्पलकाे नयाँ आइफोन सार्वजनिक, यस्ता छन् बिशेषता

“काठमाडौं, भदौ २८ । विश्व प्रख्यात कम्पनी एप्पलले आफ्ना नयाँ आइफोन सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित भव्य कार्यक्रममा नयाँ आइफोन सार्वजनिक गरिएको हो ।

आइफोन निर्माणको १० औं वार्षिकोत्सवका क्रममा एप्पलले ‘आइफोन एक्स’ अर्थात ‘आइफोन १०’ का साथ ‘आइफोन ८’ र आइफोन ८ प्लस’ सार्वजनिक गरेको हो ।

एप्पलले ‘आइफोन ७’ र आइफोन ७ प्लस’ को तुलनामा ‘आइफोन ८’ र आइफोन ८ प्लस’मा निकै सुधार गरिएको दावी गरेको छ ।

हाल केही मुलुकमा यी फोनको अग्रिम बुकिङ सुविधा उपलब्ध गराइएको छ । त्यसपछि मात्र विश्व बजारमा यी आइफोन पुग्ने बताइएको छ ।

६४ जीबी क्षमताको आइफोन ८ को मूल्य ६९९ डलर राखिएको छ भने सोही क्षमताको आइफोन ८ प्लसको मूल्य ७९९ डलर छ ।

आइफोन एक्समा होम बटन छैन । प्रयोगकर्ताको अनुहार चिन्न सक्ने ‘फेस आइडी’ फिचरयुक्त यो फोनको माथिल्लो भागमा इन्फ्रारेड क्यामेरा छ, जसले अँध्यारोमा पनि प्रयोगकर्ताको अनुहार चिन्न सक्छ ।

आइफोन एक्सतिर प्रयोगकर्ताले हेर्नासाथ यो फोन ‘अनलक’ हुने सुविधा राखिएको छ । यो एप्पलको हालसम्मकै सबैभन्दा महँगो फोन हो । यसको मूल्य ९९९ डलरबाट सुरु हुन्छ । यसको बिक्री भने नोभेम्बरबाट सुरु हुने भएको छ ।

‘आइफोन ८’ र आइफोन ८ प्लस’ भने तारविना नै चार्ज हुने गरी ‘वायरलेस चार्जिङ सिस्टम’मा आधारित छन् । अहिलेसम्मकै सबैभन्दा ‘ड्युरेबल’ ग्लासयुक्त यी फोन पानी र धुलोबाट पूर्णतया सुरक्षित बनाइएको छ । यी फोनमा थ्रीडी टच र ट्रु टोन डिस्प्ले छ ।

यसअघि नै प्रयोगकर्ताले पाएको सुविधाको तुलनामा आइफोन–८ मा प्रयोगकर्ताले विशेष सुधारिएको डिजिटल अडियोको मज्जा लिन पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =