अब इटहरी मै बेलायतको डिग्री पढ्न पाइने

“
भदाै २१, मकालु खबर । अन्तर्राष्ट्रियस्तरको पढाइको अवसर अब इटहरीमा नै उपलब्ध हुने भएको छ । काठमाडौँको इस्लिङ्टन कलेज, इटहरीस्थित बिश्वआदर्श कलेज र सुषमा गोदावरी कलेजको साझेदारीमा पूर्वको इटहरीमा बेलायतको स्नातक तहको विजनेस र आइटी डिग्री सुरु गर्ने भएको छ । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको साझेदारीमा सुन्दरहरैचा -४ स्थित इटहरी इन्टरनेशनल कलेजमा उक्त डिग्रीको पढाइ सुरु हुन लागेको हो ।
यसैबिच मङ्गलवार इटहरी इन्टरनेशनल कलेजमा बेलायतको शिक्षा क्षेत्रको गुणस्तरीयता मापन समितिको टोलीले भ्रमण गरेको छ । भ्रमणको क्रममा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका पदाधिकारी तथा अन्य पदाधिकारीले कलेजमा बिद्यार्थीहरुका लागि रहेको सेवा सुविधा, शैक्षिक गुणस्तर तथा कलेजको भौतिक पूर्वाधारका साथै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीहरू, स्थानीयबासी तथा कलेजका सस्थापकसँग छलफल समेत गरेको थियो । ११ सदस्यीय भ्रमण टोलीले उक्त कलेजको भ्रमण गरेर निक्कै खुसी भएको र पूर्वी नेपालको शिक्षा क्षेत्रमा इटहरी इन्टरनेशनल कलेजले पुर्याएको योगदानको उच्च कदर समेत गरेको कलेजका प्रबन्ध निदेशक गणेश दुलालले जानकारी दिए ।
बेलायतमा ८० लाख खर्च गर्दा पाइने डिग्री इटहरी इन्टरनेशनल कलेजमा ६ लाख ७० हजारको हाराहारीमा पाउन सकिनेछ । कलेजमा अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधि लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइने कलेजले जनाएको छ । इनोभेट नेपाल ग्रुपमार्फत नेपालमा विभिन्न पाँच वटा कलेजहरुमा बेलायतको डिग्री सञ्चालन गर्दै आइएको छ । जस अनुसार उल्भरह्याम्टन विश्वविद्यालयको साझेदारीमा मेरिल्याण्ड कलेज विराटनगर र हेराल्ड कलेज काठमाडौँ त्यसै गरी लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सहकार्यमा इस्लिङ्टन कलेज काठमाडौँ, इन्फरम्याटिक्स कलेज पोखरा र इटहरी इन्टरनेशनल कलेज इटहरी सञ्चालन भइरहेका छन् । सन् २०१० देखि उक्त लण्डन मेट्रोपोलिटन विश्वविद्यालयले इस्लिङ्टन कलेज काठमाडौमा बेलायतको डिग्री पढाइ गरिरहेको छ ।
“








