प्रदेश नम्बर २ मा आज मनोनयन दर्ता, मनोनयनको समय बिहान १० देखि साँझ ५ बजेसम्म

काठमाडौं, भदौ २१ । स्थानिय तहको तेस्रो चरणको चुनाव अन्र्तगत प्रदेश २ अन्तर्गतका आठ जिल्लाका आज मनोनयन दर्ता हुँदैछ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा उम्मेदवारको मनोनयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मनोनयनको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताएको हो । दर्ता भएका उम्मेदवारको आज नै सूची प्रकाशन हुनेछ ।यस्तै दर्ता भएका उम्मेदवारमाथि भोलिसम्म उजुरी दिन सकिनेछ । उम्मेदवारविरुद्ध परेका उजुरीको जाँच त्यसै दिन गरिने आयोगले जनाएको हो ।

आयोगको कार्यतालिकाअनुसार २३ भदौमा मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ । सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन् । यस्तै २४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने त्यसै दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगको कार्यतालिकामा उल्लेख छ । आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ ।

प्रदेश २ का आठ जिल्लामा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहमा १ हजार २ सय ७१ वडा कायम भएका छन् । प्रदेश २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने ३ हजार ५ सय ७८ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल निर्धारण गरिएको छ । स्थानीय तहको निर्वाचनमार्फत प्रमुख एवं अध्यक्ष पदमा १ सय ३६, उपप्रमुख एवं उपाध्यक्ष १ सय ३६, वडाध्यक्ष १ हजार २ सय ७१ तथा ५ हजार ८४ वडा सदस्यसहित कुल ६ हजार ६ सय २७ जनप्रतिनिधिको चयन हुनेछन् ।

यसअघि अन्य प्रदेशमा निर्वाचन दुई चरणमा गरी सम्पन्न भइसकेको छ भने प्रदेश नम्बर २ मा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालको माग पूरा गर्न भन्दै सरकारले निर्वाचन सारेको थियो । यसअघि ३१ वैशाख र १४ असार गरी दुई चरणमा ६ वटा प्रदेशमा निर्वाचन भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *