कार्यकारी ज्यूलाई थाहा छैन, नगरपालिकाको वेब्साइट

भदौ २०, सप्तरी । जनताले सर्वसुलभ ढङ्गबाट नगरपालिकाका काम कारवाहीहरु सजिलै थाहा पाउन् भनेर बनाइएको वेभ्साईट नै गलत भएपछि त्यो संस्थाले दिने सेवा कत्तिको प्रभावकारी होला र ?

सरकारी वेबसाइटमा कमै मात्र सर्वसाधारणका लागि चाहिने जानकारी हुन्छन् । ती जानकारी पनि गलत भैदिँदा समस्या आइपर्दछ ।
यस्तै एउटा उदाहरण हेरौंः सप्तरी जिल्लाको हनुमान नगर कंकालिनी नगरपालिकाको आधिकारिक वेभ्साईट ।
तपाईँ इन्टरनेटमा हुनुहुन्छ, हनुमान नगर कंकालिनी नगरपालिकाको विस्तृत जानकारी चाहियो । फोन गर्नुहोस् ९७७ ०६१ ५२११०५, ५२५३४०, ५२११०४, ५२१४६० ।

तपाईँले उल्लिखित कुनै पनि नम्बरमा फोन गरेपछि फोन सिधै उठ्दछ । र आवाज आउँछ ‘नमस्कार लेखनाथ महानगरपालिका’ तपाईँ एक छिन हत्पत हुनुहुन्छ फेरी ‘री डायल’ गर्नुहुन्छ । रिङ जान्छ, फोन उठ्छ त्यसपछि पुनः त्यही शब्दहरू दोहोरिन्छ । त्यसपछि तपाईँलाई थाहा हुनसक्छ यो नम्बर गलत रहेछ ।

खासमा उल्लिखित नम्बर लेखनाथ महानगरपालिका कै हो । कास्की जिल्लाको कोड नम्बर त त्यो जिल्ला वाहेकले मनमा राख्न सक्दैनन् ।
सन् २०१५ मा बनाइएको यो www.hanumannagarkankalinimun.gov.np  वेभ्साईटमा नत नगरपालिकाको सम्पर्क नम्बर गलत मात्र छैनन् । नगरपालिकाको कुनै पनि सूचनाहरू पाउन सकिन्न । वेभ्साइटको डिजाइन बनाइएको छ । आवश्यक विषय र पेज पनि बनाइएको छ । तर, कुनै पनि कुरा अपडेटेड छैनन् । तपाईँ साइटमा गएर गृह पृष्ट, परिचय, कार्यक्रम तथा परियोजना, सूचना जानकारी जस्ता विषयमा क्लिक गर्नुहोस् । ती सबै खाली पाउनुहुन्छ । भने, सम्पर्कमा क्लिक गर्दा तपाईँलाई कास्की स्थित लेखनाथ महानगरपालिकाको फोन नं.हरू उपलब्ध छ ।

नगरपालिकाले वेभ्साइट बनाएको भनेर सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई समेत भुक्याएको छ । नगरपालिकाको यो साइटको लिँक मन्त्रालयको पेजमा समेत राखिएको छ ।

लेखनाथ महानगरपालिकाका सामाजिक विकास शाखाका वरिष्ठ अधिकृत ओमराज पौडेलले हनुमान नगरपालिकाले जनतालाई भुक्याएको बताए । उनले नगरपालिकाका कर्मचारीहरूको कार्यशैलीलाई इङ्गित गर्दै गाईजात्रे भने । ‘गाईजात्रा गरिएको छ नि । देशमा भर्खरै गाईजात्रा सकियो तर हनुमान नगरपालिकामा सुरु भएछ,’ उनले भने । लेखनाथ नगरपालिकाका एक कर्मचारीले दैनिक दर्जनौ फोन हनुमान नगर भन्दै आउने गरेको बताए । ‘खै हामी छक्क पर्छौ, दिनहुँ फोन आउँछ ।’ उनले भने ।

हाम्रो वेभ् साइट नै छैन ?

अचम्म लाग्दो कुरा ! सरकारले देशभरका नगरपालिका, जिल्ला विकास समिति र स्थानीय निकायका कार्यालयका वेभ्साइटहरु बनाउन भनेपनि हनुमान नगर कंकालिनी नपाका कार्यकारी अधिकृतले भने आफ्नो कार्यालयको वेभ् साइट नै नभएको जिकिर गरे । ‘तपाईँ झुक्किनु भो, हामीले अहिलेसम्म वेभ्साइट नै बनाएको छैनौँ ।’ मकालु खबरसँग फोन सम्पर्कमा कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र कुमार यादवले भने । मकालु खबरले तपाईँको कार्यालयको साइट छ, हेर्दा हुन्छ भन्दा यादवले उल्टै आफूहरूले वेभ्साइट नै नबनाएको भन्दै ‘कसैले बनाएको भए कसरी थाहा पाउने ?’ भन्दै प्रश्न गरे । उनले आफुहरुलाई अनलाइनको कुनै ज्ञान नै नभएको र बनाउनेलाई कारबाही कुन निकायले गर्ने समेत थाहा नभएको बताए । ‘ सर, कसरी पत्ता लगाउने लौन यो त बर्बादै भयो नि ! कारबाही कसले गर्ने पनि थाहै भएन ।’ उनले भने ।

फेसबुक पेज पनि बनेको छैन

वेभ्साइट मात्र हैन नगरपालिकाको नाममा फेसबुक पेजपनि चालू रहेको छ । उक्त पेज कसले चलाउँछ थाहा छैन । कार्यकारी अधिकृत यादवले नगरपालिकाले फेसबुक पेज पनि नबनाएको जिकिर गरे ।

नगरपालिकाको पेज र फेसबुक पेज त्यत्ति अपडेट पनि छैन । भारदह बजारका किरण शाहले आफूले नगरपालिकाका अधिकारीलाई वेव्साइट अपडेटका विषयमा कुरा गरे पनि नसुनेको बताए । उनले केही महिना अघि कार्यालयमा गएर साइट अपडेट नभएको, सम्पर्क नंंहरु गलत रहेको भन्दै जानकारी गराएका थिए । ‘मैले २ महिना अघि नै भनेको हो । तर, त्यहाँका कर्मचारीले चासो दिएनन् ।’ उनले भने ।

यसरी अनाधिकृत रूपमा सरकारी कार्यालयका वेब साइटहरू अन्यले प्रयोग गर्दा समेत सम्बन्धित निकायले थाहा नपाउनु कति सम्मको लापरवाही हुँदो रहेछ प्रस्ट हुन्छ । कुनै पेशेवर ह्याकरले साइट ह्याक गरिदिँदा अथवा उक्त पेजबाट गलत सूचना प्रवाह गरिदिँदा त्यसले नगरपालिकालाई प्रत्यक्ष असर गर्दछ । यो विषयमा नगरपालिका जवाफदेही हुने की नहुने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *