जब रमाइलो हेर्न आएका दर्शक नै निर्णायक भए…
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
टोकियो (जापान), १४ भदौ । सुदुरपश्चिमेली समाजको लोकप्रिय देउडा भाकालाई रमाइलो लागेकै भरमा पिटेको ताली नै निर्णायक भएपछि दर्शक खुसी भए । मन परेको मान्छेलाई गरिएको प्रेम प्रस्ताव सहजै स्वीकारेर पनि परिवार बाधक भएको संस्कारविरुद्ध मञ्चमा गएको जोडीलाई दर्शकले तालीमार्फत न्याय दिलाएका हुन् ।
देउडा भाषाको गीत हेर्न सयौँको सङ्ख्यामा उपस्थित दर्शकले अर्थ बुझेनन् । रमाइलो लागेकै भरमा ताली पिटिरहे । रमाइलो लागेर पिटेको ताली निर्णायक भएपछि प्रेमजोडी पनि खुसीले नाच्यो । गीतमार्फत उनीहरूले नेपालको बदलिँदो राजनीतिक अवस्थाका कारण विदेशिँदाको पीडा र रोदन प्रकट गर्दै दर्शकलाई आकर्षित पारिरहे ।
जापानका नेपाली समुदायले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल फेष्टिबलमा कथा शैलीमा दर्शकलाई जिम्मेवार बनाएको समाजले ताली पिटिरहेका दर्शकलाई प्रेमिकाले जौको पातमार्फत प्रेम प्रस्ताव गरेको जानकारी गराएपछि खुसीले दर्शक गद्गद् भएका थिए ।
जापानमा आयोजित नेपाल फेष्टिबलमा सुदूरपश्चिमेली समाज, जापानले गत आइतबार देखाएको मञ्चमा देउडा गायक दिलेन्द्र जोशी र गायिका सोना केसीलाई समर्थन गर्दै नेपाली राजदूतावासका रेवन्त केसी, आशिष् रावल, लोकेन्द्रजंग कुँवर, दिनेश अधिकारी, राम विष्टलगायतले गीतमा सहभागिता जनाएका थिए ।
गायिका केसीले सुदूरपश्चिमेली भाषामा ‘धर्ती हिँड्ने जोगीमाता, जौ पात स्वर्ग घुम्ने चिल, लौ मैले क्या भने भन बाज’ …… भन्दै ‘कसरी छुट्यो र जाललाई जौ पात कलेजीका डिल, लौ मैले क्या भनेँ भन बाज’ भनेर टुंग्याउन नभ्याउँदै प्रेमीको रूपमा गायक जोशीले ‘सेतीको सुसाउने पानी जौ पात, कर्णाली छछल्का, लौ मैले क्या भनेँ भन बाज, छुट्टिन्या, छुट्टिन्या बेला जौ पात नलाउनु झझल्का लौ मैले के भनेँ भन बाज’ भन्दै गीत गाएका थिए ।
पर्यटन प्रवद्र्धनका लागि जापानमा आयोजित दुई दिवशीय फेष्टिबलमा नेपाली कला संस्कृति झल्कने लोकभाकाले जापानको उएनो पार्क नेपालीमय भएको थियो । कला संस्कृति झल्कने स्टलसहित पर्यटकीयस्थलको जानकारीमूलक कक्षसहितका नेपाल चिनाउने पथप्रदर्शनमूलक पुस्तकका स्टल र नेपाली खानाका रेष्टुराँ, स्थानीय उत्पादन गरी ४६ स्टल राखिएको यो फेष्टिबल गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) जापान र स्थानीय संघसंस्था तथा नेपाली राजदूतावासका प्रतिनिधिले संयुक्तरुपमा आइतबार समापन गरेका थिए । रासस
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)