अविरल बर्षाका कारण ताप्लेजुङका कच्ची सडकमा पहिरो, यातायात ठप्प


“
ताप्लेजुङ, भदौ १२ । वर्षाका कारण ताप्लेजुङका अधिकांश कच्ची सडकमा पहिरो जाँदा सडक अबरुद्ध बनेको छ ।
बाटो हिलाम्मे हुँदा सदरमुकामबाट गाउँसम्म जाने यातायातका साधन चल्न सकेका छैनन् । बाटोको स्तरोन्नतीका लागि काम भइरहे पनि बाढी पहिरोले अवरोध आएको निर्माणकर्ताहरुले बताएका छन् ।
फुङ्लिङ सदरमुकामबाट पूर्वी क्षेत्र जोड्ने खाम्दिने, तेल्लोक, याङपाङ, याम्फुदिन, हेल्लोक सडकको निर्माण भईरहे पनि गत साउन २२ गतेदेखि अविरल पानी पर्दा एक दर्जन ठाउँमा पहिरो गएको छ ।
बर्षाका कारण पाँचथरको दाहाल गाउँमा पहिरो गएकाले सडक निर्माण ठप्प भएको याक्थुम्हाङ–हिमडुङ एण्ड थोकर सेवालुङ जे.भी. निर्माण कम्पनीका प्रबन्ध निर्देशक जसबहादुर चेम्जोङले जानकारी दिए ।
उता, ताप्लेजुङ खण्डमा बनाइएका रिटेनिङ वाल र ग्याविन वाल बगाउँदा ठूलो क्षति भएको छ ।
सो बाटो बन्द हुँदा जिल्लाको पूर्वी क्षेत्रमा रहेका दुई वटा गाउँपालिका सिरिजंघा र सिदिङ्वामा आवत जावत टुटेको छ । ती दुई गाउँपालिकाका साबिकका एक दर्जन गाविसको सडक सम्पर्कविहीन भएको छ ।
“
