पत्रकारलाई कृषि तालिम

किशोर खनाल, नारायणगढ । फरवार्ड नेपालले चितवनका क्रियाशील पत्रकारहरुलाई कृषि तालिम दिएको छ । फरवार्डले नेपाल पत्रकार महासङ्घ चितवनसँगको सहकार्यमा पत्रकारहरूलाई तीन दिने कृषि तालिम दिएको हो । पत्रकारहरूलाई कृषि क्षेत्रमा केन्द्रित रहेर समाचार सङ्कलन गर्नका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको फरवार्ड नेपालले जनाएको छ ।
तालिमको उद्घाटन सत्रमा फरवार्ड नेपालका अध्यक्ष माधव श्रेष्ठले चितवनमा कृषिसम्बन्धी धेरै गतिविधि हुने भए पनि सञ्चारमाध्यममा उचित स्थान नपाइरहेको बताए । उनले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई कृषिसम्बन्धी तालिमको आयोजना गरिएको जानकारी गराए ।
कृषिसम्बन्धी कतिपय कुराहरू धेरैलाई थाहा नहुने भएकोले पत्रकारहरूको माध्यमबाट जनस्तरसम्म जानकारी दिनका लागि पत्रकारहरूलाई तालिममा सहभागी गराइएको उनको भनाइ थियो । ‘यो तालिमबाट यहाँका पत्रकारहरूलाई कृषि क्षेत्रमा कलम चलाउन पक्कै पनि सहज हुनेछ । यसमा म पूर्ण विश्वस्त छु’ उनले भने ।

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पनि कृषिसम्बन्धी समाचार सङ्कलनको लागि यो तालिम फलदायी हुने विश्वास लिएको छ । तीनदिनको तालिम पर्याप्त नभए पनि केही हदसम्म समाचार लेखनमा सहयोग पुग्ने महासङ्घ चितवन शाखाका अध्यक्ष राधेयाम खतिवडाले विश्वास दिलाए । ‘तीनदिनको तालिम नै पर्याप्त त होइन । तर, पनि तालिमले कृषि क्षेत्रसँग सम्बन्धित रहेर समाचार लेख्नका लागि चितवनका पत्रकारहरूलाई कलम चलाउन केही हदसम्म सहज हुनेछ’ अध्यक्ष खतिवडाले भने ।
चितवनमै कृषि विश्वविद्यालय, कृषिसम्बन्धी क्रियाकलापहरू बढ्दो मात्रामा हुने भएकोले पनि कृषिसम्बन्धी समाचार सङ्कलन गर्नमा यो तालिम फलदायी हुने उनको भनाइ थियो । तीनदिनसम्म चल्ने तालिमको पहिलो दिन शुक्रवार मिडिया एक्सपर्ट डा टंकप्रसाद उप्रेती, पत्रकार गोविन्द शर्मा, पोल्ट्री विज्ञ डा तिलचन्द्र भट्टराई, बीउ विज्ञ मित्रराज दवाडी, जिल्ला पशु सेवा कार्यालय चितवनका वरिष्ठ पशु चिकित्सक डा डिल्लीराम सेढाई र फरवार्ड नेपालका उज्वल तिवारीले प्रशिक्षण दिएका थिए । चितवनमा रहेर स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आबद्ध २० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *