रियलमा रोनाल्डोको प्रभाव

एजेन्सी– पछिल्ला दुई खेल दर्शकका रुपमा सिमित हुन बाध्य क्रिस्टियानो रोनाल्डो मैदानमा फर्केको खेलमा प्रभाव जमाउन सफल भएका छन् । बालोन डी’ ओर विजेता रोनाल्डोले प्रभावशाली प्रदर्शन गरेपछि गएराती रियलले सन्टायागो बेर्नाबेउ ट्रफी जितेको छ ।

इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले हराउँदै रियलले घरेलु मैदानमा मैत्रीपूर्ण खेलको उपाधि उचालेको हो । खेलमा रोनाल्डोले निर्णायक गोल गरेका थिए । जोर्डन भेरेटोटको गोलमा भ्रमणकारी टोलीले अग्रता लिएपछि बोर्जा मायोराले बराबरी र रानाल्डोले निर्णायक गोल गरेपछि रियल विजयी भएको थियो ।

३२ बर्षे सुपर स्टार रोनाल्डो प्रतिस्पर्धात्मक खेल पाँच खेलको प्रतिबन्धमा छन् । बार्सिलोनासँग स्पेनिस सुपर कपको पहिलो लेगमा रातो कार्ड पाएपछि रोनाल्डोले रेफ्रीलाई धक्का दिएका थिए । त्यसकै कारवाही स्वरुप पाँच खेलको प्रतिबन्धमा रहेका उनी विना रियलले दुई खेल खेलिसकेको छ । उनले अझै तीन खेल प्रतिबन्धमा बिताउने छन् । तर, त्यो प्रतिबन्ध मैत्रीपूर्ण खेलमा भने लागु हुने छैन ।

अघिल्लो खेलमा रहेको ११ मध्ये सर्जियो रामोस बाहेक प्रशिक्षक जिनेदिन जिदानले टोलीमा सबै परिवर्तन गरेका थिए । आइतबार ला लिगको पहिलो खेलमा रियलले डिर्पोटिभो लाकुरुनालाई ३–० ले हराएको थियो । गएराती चौथो मिनेटमै रियल खेलमा पछि परेको थियो । एस्टन भिल्लाका पूर्व मिडफिल्डर भेरोटोटले अप्रत्यासित गोल गर्दै इटालियन टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन ।

तीन मिनेटपछि नै स्पेनका यू २१ टोलीका खेलाडी मायोरेले बराबरी गोल फर्काए । अघिल्लो सिजन उनी लोनमा जर्मनीको उल्फसबर्ग पुगेका थिए । पहिलो हाफमै रोनाल्डोले गोल फर्काएका थिए । उनले ३३ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो । जिदानले दोस्रो हाफमा धेरै खेलाडी परिवर्तन गरे । रोनाल्डोसहित तीन खेलाडीले मात्र पुरा ९० मिनेट खेलेका थिए । डिर्पोटिभोसँगको खेलमा रातो कार्डका सामना गरेका कप्तान रामोसले खेल सकिएपछि मार्सोलोको सहयोगमा घरलु समर्थकका बीच ट्रफी उचालेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *