​नेपाल र भारतबीच के कस्ता सम्झौता हुँदैछन् ?

भदौ ८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । हैदराबाद हाउसमा ३० मिनेट हुने वार्तामा तेस्रो व्यक्तिको उपस्थितिलाई निषेध गरिएको छ । देउवा र मोदीमात्रै बस्ने वार्तापछि दुई देशका प्रतिनिधिमण्डल वार्तामा बस्ने छन् । यसपछि दुई देशबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ । दुवै देशका अधिकारीहरुका अनुसार आधा दर्जन सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

पुनर्निर्माण सम्बन्धी ४ वटा एमओयुमा हस्ताक्षर हुने छ । यसै गरी भारतले हाउजिङ, स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदामा सहयोग गर्ने छ । उसले यी सबैमा गरी जम्मा २ खर्ब २० अर्ब रुपैयाँ सहयोग गर्ने बताइएको छ । यो समझदारी पत्रमा आजै हस्ताक्षर हुने छ । यसै गरी भारत ठुला परियोजनामा सहयोग गर्न पनि इच्छुक छ । बैठकमा पन्चेश्वर परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र नेपाली सीमासम्म रेलवे निर्माणबारे छलफल हुने बताइएको छ ।

पत्रकार सम्मेलनपछि दुवै मुलुकका प्रधानमन्त्रीले संयुक्त रूपमा नेपाल भारत ट्रान्समिसन लाइनलाई स्वीच दवाएर उद्घाटन गर्ने कार्यक्रम छ । दिउसो १ बजेर २५ मिनेट जाँदा संयुक्त पत्रकार सम्मेलन हुनेछ, जहाँ दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।


प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीले भेट गर्नेछन् । देउवाले साँझ ५ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्द र लगत्तै उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् । यस्तै, साँझ ६ बजे काँग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको अन्तक्रियामा सहभागी हुनेछन् । भने, नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *