‘सबै नेपाली अटाउनु पर्छ भन्ने भाव महाधिवेशनले पैदा गरिदिएको छ’ लामिछाने

बेलायतमा रहेर नेपालीहरूका लागि विभिन्न सामाजिक काम गर्दै आएको नेपाली काँग्रेससँग सम्बद्ध संस्था जनसम्पर्क समितिको आगामी अधिवेशनका लागि शान्त विनोद लामिछानेले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा रहेका प्रवासी नेपालीहरू माझ अत्यन्तै लोकप्रिय र बौद्धिक व्यक्तित्वका रपमा चिनिएका लामिछानेले आफ्नो उम्मेदवारी समग्र प्रवासी नेपालीका लागि भएको बताएका छन् ।
वीपी कोइराला र प्रजातान्त्रिक समाजवादका प्रखर पक्षधर लामिछानेले नेपाली जनसम्पर्क समिति बेलायतको सदस्य, सह–कोषाध्यक्ष, प्रथम निर्वाचित महामन्त्री, उपसभापतिको पदमा रही उदाहरणीय भूमिका निभाइसकेका छन् । लामिछाने नेपाली काँग्रेसको १२ औ महाधिवेशनमा बेलायतबाट महासमिति सदस्यका रूपमा भाग लिएका थिए । उनलाई बेलायतमा कुशल संगठनकर्ताको रूपमा पनि चिनिन्छ । उनले महामन्त्रीको भूमिकामा रहँदा जनसम्पर्क समितिलाई बेलायतको उच्चकोटीको सङ्गठनमा पुर्याएका थिए । आगामी सेप्टेम्बर १७ मा हुन गइरहेको महाधिवेशनमा उनको उम्मेद्वारीसँगै जनसम्पर्क समितिको महाधिवेशन गर्मिएको छ । यो महाधिवेशनलाई एकताको महाधिवेशन पनि भनिएको छ । प्रस्तुत उहाँसँग महाधिवेशन र उहाँको उम्मेद्वारीका विषयमा गरिएको कुराकानीको संक्षेपः

बेलायतमा रहेका नेपालीहरूको अवस्था के कस्तो पाउनु भएको छ ?

नेपालबाट बेलायत आएका नेपालीहरू यहाँ आफ्नो सिप कला र दक्षता अनुसार सर्भाइभ भएको पाएका छौँ । खास गरी यहाँ बेलायती सेनामा कार्यरत सेनाका परिवार, उच्च शिक्षा हासिल गर्ने विद्यार्थी तथा लामो समयदेखि यहीँ रहेर विभिन्न पेशागत काम गरिरहनु भएका धेरै नेपालीहरू हुनुहुन्छ । बेलायतभरी नै नेपालीहरूको सङ्ख्या हेर्दा करिब डेढ लाखको हाराहारीमा पुगेको छ । र, बेलायत शिक्षा, स्वास्थ्य र करियर निर्माणका लागि विश्वकै उच्चतम प्रजातान्त्रिक प्रणाली भएको देश भएकोले नेपालीहरूले त्यसको उपभोग गर्दै बसेको अवस्था छ । बेलायतमा नेपालीहरूलाई ‘वीर गोर्खाली’ भनेर सबैले सम्मान र आदर गरेको पाएका छौँ ।

डेढलाख नेपालीहरू माझ प्रजातान्त्रिक विचारधारा बोकेर हिँड्ने नेपालीहरू कति छन्  ?

बेलायतलाई प्रजातन्त्रको जननी नै भन्ने गरिन्छ । र, यहाँ नेपालबाट आएका अधिकांश नेपालीहरू प्रजातान्त्रिक विचार धारा नै बोकेर आएका छन् । तथापि, नेपाली जनसम्पर्क समितिमा रहेर प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै आउनु भएका नेपालीहरू करिब सात हजारको हाराहारीमा हुनुहुन्छ । यो सङ्गठन बेलायतमा सबैभन्दा ठुलो सङ्गठन हो ।

तपाईँ नेपाली काँग्रेस र प्रजातान्त्रिक विचारधारा पट्टी कसरी आकर्षित हुनुभयो  ?

२०३६ सालमा जतिबेला नेपालमा पञ्चायती शासन व्यवस्था विरुद्ध नेपाली काँग्रेसले आन्दोलन गरेको थियो । त्यत्तिबेला मेरो बुबा पनि त्यो आन्दोलनमा सक्रिय हुनहुुन्थ्यो । मैले यो विषयमा स्कुले जीवनदेखि नै बुझ्दै आएको थिएँ । सानैदेखि प्रजातन्त्रमा मात्र जनताको मौलिकहरु अधिकार सुनिश्चित हुन्छ भन्ने भाव पैदा हुँदा म नेपाली काँग्रेस पट्टी आकर्षित भएँ ।

पछि देश जनमत सग्रहसम्म आइपुग्दा काँग्रेसको विचारधारा र प्रजातान्त्रिक पद्धतिले मलाई पुरै काँग्रेस बनाई सकेको थियो । चितवनबाट उच्च शिक्षाका लागि काठमाडौँ आएर रत्न राज्य क्याम्पसमा अध्ययन गर्न थालेपछि म नेपाल विद्यार्थी सङ्घको राजनीतिमा होमिए । २०४६ सालमा पंचायत विरुद्धको आन्दोलनमा गिरफ्तार भई हिरासतमा समेत परें । यसले मलाई अझ काँग्रेस र प्रजातान्त्रिक पद्धति प्रति दृढ बनायो ।

बेलायतमा आएर चाहिँ कसरी नेपाली जनसम्पर्क समितिमा आबद्ध हुनुभयो  ?

सन् २००३ मा बेलायत आएर यहाँका नेपाली विद्यार्थी र नेपालीहरूलाई नेपाली काँग्रेसको मूल्य र मान्यता प्रति आस्थावान बनाउँदै यहाँका नेपालीहरूको सुखदुखःमा हामी नेपालीहरू एक भएर लाग्नुपर्दछ भन्ने सोच बनाएर हामीहरूले नै नेपाली जनसम्पर्क समितिको स्थापना गरेका हौँ ।

नेपाली जनसम्पर्क समितिको उद्देश्य र काम कर्तव्य चाहिँ के हो  ?

यसको मुख्य उद्देश्य भनेको नेपाली काँग्रेसको मूल्य मान्यता र प्रजातान्त्रिक विचारधारा बोकेर बेलायतमा रहेका सम्पूर्ण नेपालीहरूको हक अधिकारका लागि आवाज उठाउने हो । त्यस बाहेक यहाँ रहेका नेपालीहरू माझ एकता, भातृत्व कायम गर्दै उनीहरूलाई सङ्गठित गर्नु नै यसको मुख्य कार्य हो ।

संस्थाले नेपाल र नेपालीमा माथि आइपरेका हरेक विषम परिस्थिति र समस्यामा बेलायतमा रहेका नेपालीमा राष्ट्रिय भावना जागृत गर्नुपनि हो । समिति गठन भएपछि एक नेपालीले अर्को नेपालीलाई सहज रूपमा चिन्ने जान्ने अवसर पनि दियो । हामी यहाँ नेपाली काँग्रेस पार्टी प्रति आस्थावान भएर सङ्गठित भए पनि हामीले सामाजिक काम र प्रवासी नेपालीहरूका हक अधिकारका लागि पनि आवाज उठायौं ।

नेपाली काँग्रेसको विचारधारा प्रति आस्थावान समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा के कस्तो योगदान गरेको छ  ?

जतिबेला २०५८ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए । त्यत्तिबेला हामी विश्वकै उत्कृष्ट प्रजातन्त्र भएको मुलुकमा बसिरहेर त्यहाँको आन्दोलनलाई टुलुटुलु हेरिरहन सकेनौं । हामीले नेपाल र नेपालीको सुन्दर भविष्य निर्माण गरी उनीहरूबाट खोसिएको अधिकार फिर्ता ल्याउन अन्तर्राष्ट्रिय तहमा सशक्त भएर आवाज उठाउनुपर्छ भनेर लाग्यौं । फलस्वरुप यहिँबाट प्रजातन्त्रको पुर्नवहालीको आन्दोलन थालियो । बेलायतमा हाम्रै पहलमा विभिन्न विरोध कार्यक्रमको आयोजनामा गरियो । १ फेब्रुअरी २००६ मा ज्ञानेन्द्र सरकारको विरोधमा संयोजकका रूपमा लण्डनको वेस्टमिनिस्टर संसद् भवन अगाडी विशाल राजनैतिक ¥यालीको नेतृत्व समेत गरेँ ।

सोही दिन नेपालको जन आन्दोलनका बारेमा जानकारी दिन बेलायत नेपाल संसदीय समूहका अध्यक्ष सांसद सर जोन स्टान्लेको निम्तोमा बेलायती संसद् भवनको कार्यकक्षमा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा ७ दलले गरेको आन्दोलन र ज्ञानेन्द्रको तानाशाही शासन व्यवस्थाका विषयमा बृहद् जानकारी दिए । र त्यो जानकारी पछि बेलायतले ज्ञानेन्द्रलाई सत्ता छोड्नको लागि चर्को दबाब दिन अनुरोध गरेका थिए । हामी प्रवासमा रहेर पनि आफ्नो देश र जनताका हक अधिकारका विषयमा विश्वलाई ध्यानकेन्द्रित गर्नुपर्छ भनेर लागि परेका थियौँ र छौँ ।

प्रजातान्त्रिक मूल्य र मान्यता बोकेको यो सङ्गठन अहिले विभिन्न समूहमा विभाजित हुनुको कारण चाहिँ के हो  ?

हेर्नुहोस्, प्रजातान्त्रिक प्रणालीमा सबैले आ–आफ्ना एजेण्डा र विषय स्वतन्त्र रूपमा राख्न पाउँछ । यही मौलिक अधिकार प्रयोग गदै केही समय यता धेरै साथीहरू आ–आफ्ना एजेण्डा लिएर हिँड्नु भयो । तथापि, हामीहरू प्रवासी नेपालीका हक अधिकार संस्थागत गर्न र आफ्नो देशका लागि सदैव एकजुट नै भएर बसेका छौँ । अहिले यो महाधिवशेन आइरहँदा धेरै साथीहरू अब फुटेर हैन जुटेर काम गर्नुपर्छ भन्ने मूल्य मान्यता लिएर आउनु भएको छ । विगतमा भएका कमीकमजोरीलाई सच्याएर नेपाली जनसम्पर्क समितिमा सबै नेपाली अटाउनु पर्छ भन्ने भाव यो महाधिवेशनले पैदा गरिदिएको छ ।

यो महाधिवेशनमा उठाईने विषयहरू के–के रहेका छन् ?

हामी प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्नेहरु भएकाले बेलायतमा रहेका नेपालीहरूको हक अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ । यहाँका नेपालीहरूका समस्या के–के हुन् रु विद्यार्थीका समस्या के–के छन् रु भूपू ब्रिटिस आर्मीका परिवारका समस्या के–के छन् र कसरी ती समस्यालाई हल गरी आफ्नो हक अधिकार संस्थागत गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुन्छौं । यसका साथै नेपाली काँग्रेसको मूल्य मान्यता र आदर्शलाई संस्थागत गर्ने, प्रवासमा रहेर पनि आफ्नो मातृभूमिको विकास र प्रगतिमा कसरी सहभागी हुने जस्ता विषयमा हामी केन्द्रित रहनेछौं ।

यस पटकको महाधिवेशनमा तपाईँ अध्यक्षमा उठ्दै हुनुहुन्छ, यहाँको उम्मेदवारी किन र केका लागि ? 

मेरो उम्मेदवारी भनेको सम्पूर्ण बेलायतमा रहनुहुने नेपालीहरूको हक अधिकार संस्थागत गर्न, नेपाली जनसम्पर्क समितिलाई एकताको सूत्रमा बाँधेर सङ्गठनलाई सुदृढ र सबल बनाउनका लागि हो ।

अहिले यो सङ्गठनमा Development, Delegation, delivery र संस्थागत विकासको लागि Dibulation जरुरी छ । बेलायत जस्तो व्यस्त देशमा सबैलाई एक ठाउँमा मतदान गर्ने पद्धति पुरानो भइसकेको बिचार हो । त्यसैले क्षेत्रीय समितिलाई मजबुत गराएर जतिसक्दो प्रतिनिधित्व स्थानीय क्षेत्रबाट गराएर केन्द्रमा प्रतिनिधित्वमुलक नेतृत्व पद्धति अवलम्बन गर्नु जरुरी छ । अहिले संस्थामा बिचारमुलक राजनीतिको खाँचो देखिएको छ । वीपी कोइरालाले भने जस्तै ‘मानिस ब्रेडले होइन ब्रेनले चल्छ’ भन्ने बनाउन पनि जरुरी छ । अहिले जनसम्पर्क समितिमा त्यो विचारधारा बोक्ने नेतृत्व छैन । र मेरो प्रमुख उद्देश्य त्यस्ता विचारधारा बोकेकालाई सङ्गठनमा ल्याउने वातावरण बनाउनु हो ।

संस्थालाई वैचारिक रूपमा बलियो बनाउने, आर्थिक रूपमा पारदर्शी गर्ने, युवाहरूलाई अवसर दिई भविष्यको नेतृत्वको लागि तयार पार्ने, स्थानीय जनप्रतिनिधिहरुसँग मिलेर बिचारमुलक कार्यक्रम ल्याउने, बेलायत र नेपालका सांसदहरु बिच सुमधुर सम्बन्ध स्थापित गराउने, नेपालका गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिहरुलाई बेलायती स्थानीय सरकारका काम कार्यवाही, भ्रष्टाचार विरोधी कार्य पद्धतिका विषयमा विभिन्न भ्रमण, तालिम र गोष्ठी आयोजन गर्ने, बेलायतबासी नेपाली बौद्धिक समुदायको डाटा बैङ्क तयार गर्ने एजेण्डा रहेका छन् ।

यसै गरी नेपाली दूतावासमा आइपरेका स्थानीय समस्या र गुनासोलाई समाधानका लागि पहलकदमी गर्ने र आवश्यक परे सिधै परराष्ट्र मन्त्रालयमा समेत समन्वय गर्ने, ‘एक पटकको नेपाली सधैको नेपाली’को मुलमन्त्रलाई साकार पार्न एनआरएनसँग मिलेर सहकार्य गर्ने, भूपु गोर्खा सैनिकको समान पेन्सन तथा छोराछोरी ल्याउन परेको कठिनाइको विरोधमा जारी आन्दोलनलाई नैतिक भौतिक समर्थन गरी बेलायती सरकारलाई दबाब दिने, स्थानीय संसदलाई अपिल गर्ने जस्ता दीर्घकालीन र अल्पकालिन योजनाहरू पुरा गर्नका लागि मेरो उम्मेदवारी हो ।

अन्तमा, बेलायतमा रहेका प्रवासी नेपालीहरूका लागि के भन्नुहुन्छ ?

विशेष गरी बेलायतमा आएर विभिन्न क्षेत्रका नेपाली दाजुभाइ दिदी बहिनीहरू, जो नेपाली जनसम्पर्क समितिमा आबद्ध हुनुहुन्छ, उहाँहरूलाई यो एकताको महाधिवेशनलाई भव्य, सभ्यका साथ सम्पन्न गर्न सहयोग गर्नुहुन अनुरोध गर्दछ । साथ साथै यो महाधिवेनमा मैले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकोले यहाँको साथ र सहयोगको अपेक्षा गर्दछु, धन्यवाद

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *