ट्राभल एजेन्सीहरूले पर्याप्त पैसा नदिँदा ‘टुरिष्ट गाइड’को पेशा संकटमा

काठमाडौं, भदौ ५ । पछिल्लो समय उचित पारिश्रमिक अभावका कारण विदेशी पर्यटकमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक सूचना सम्प्रेषण गर्ने टुरिष्ट गाइडहरु पलायन हुन थालेका छन् । नेपाल घुम्न आउने विदेशीहरुलाई नेपालका विभिन्न क्षेत्रको जानकारी दिने जिम्मा लिएका दक्ष गाइडहरु पलायन हुँदा नेपालबारे गलत सूचना जाने खतरा बढेको छ ।

पछिल्लो समय समयअनुसारको पारिश्रमिक नदिइ ट्राभल एजेन्सीहरुले बौद्धिक रुपमा शोषण गर्दा आफ्नो पेशा नै संकटमा परेको टुर गाइडहरु बताउँछन् । राम्रो काम गर्ने गाइडलाई सम्मान तथा प्रोत्साहन समेत कसैले नगर्दा पेशाप्रति बितृष्णा पैदा हुने उनीहरुको गुनासो छ ।

सन् २०१७ मा टुर एच क्यु नामक सञ्जालले सार्वजनिक गरेको प्रतिवेदनमा संसारभरका उत्कृष्ट एक सय जना गाइडमध्ये नेपालको अग्रपङ्तीमा रहेका पोखराका अंग्रेजी भाषाका टुरगाइड हेमराज बास्तोला ट्राभल एजेन्सीहरुले समान्य पारिश्रमिक समेत दिन हिच्कचाउन थालेपछि आफ्नै सम्पर्कका आधारमा काम गर्ने गरेको बताउँछन् । उनले वर्षमा एकदमै थोरै दिन काम पाउने गाइडले काम पाएको दिन पनि निकै कम पारिश्रमिकमा काम गर्दा जीवन धान्न नै धौ धौ पर्ने गरेको बताए । कामको सम्मान समेत कसैले नगर्दा दुख लाग्ने गरेको उनी बताउँछन् ।

टुर एच क्यु डटकमकै प्रतिवेदनमा विश्वका सय उत्कृष्टको सुचीमा अटाउन सफल अंग्रेजी भाषाका अर्का टुरगाइड पारसमणि अंगाईं पर्यटनभित्रका पेशागत संगघसंगठन समेतले पारिश्रमिकबारे नबोलिददा निकै दुख लाग्ने गरेको बताउँछन् । उनले बजार निकै मंहँगिएको बेला टुर गाइडको बौद्धिक श्रम शोषण गरिने गरेको भन्दै भविष्यमा यो पेशामा दक्ष गाइड नै नरहने खतरा रहेकोमा सचेत गराए ।

उनी भन्छन्, ‘यो पेशा निकै संवेदनशील छ, नेपालका सबै संस्कृति, कला कौशल, धार्मिक, ऐतिहासिक लगायतका विविध क्षेत्रको ज्ञान भएको व्यक्तिले मात्रै विदेशीलाई सही जानकारी गराउँन सक्छ तर यही ज्ञान भएका गाइडहरुले समेत उचित पारिश्रमिक नपाउँदा उनीहरुके जीवनशैली असहज बनिररहेको छ, यो निकै खतराको अवस्था हो ।’

टुर गाइडहरुको छातासंगठन टुरिष्ट गाइड एशोसिएन अफ नेपाल (टुरगान) का आजिवन सदस्य समेत रहेका अंगाईले आफ्नो हितका लागि भन्दै स्थापित संघसंस्थाहरुले समेत मनोमानी गर्ने रुपमा काम गर्ने प्रबृत्ति हाबी भएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘टुरगाइडकै हितमा काम गर्ने टुरगानले न्युनतम पारिश्रमिक तोकेको छ । तर लागू गराउने कुरामा प्रभावकारी छैन जसका कारण एजेन्सीहरुले दुख दिने गरेका छन् ।’
पेशागत धर्मलाई विर्षेर कतिपय गाइडले सस्तोमा काम गरिदिँदा पर्यटनमा गुणस्तरीय सूचना सम्प्रेषणमा प्रश्नचिन्ह लागेको बताउँदै उनले भने, ‘यो मामलामा पेशागत मर्यादा नाघेर सस्तोमा काम गर्ने गाईडहरु पनि उत्तिकै जिम्मेवार छन ।’

श्रमिकको हितमा लामो समयदेखि काम गर्दै आएको संस्था नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतको नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स–कर्मचारी मजदुर यूनियन (यूनिट्राभ) का महासचिव सुमन पराजुलीले वर्षभरीमा २ देखि ३ महिना मात्रै काम पाउने टुरगाइडले न्युनतम पारिश्रमिक समेत पाउँन नसक्दा दक्ष गाइड पलायन हुन थालेको बताए ।

उनले पेशागत संगसंगठनसँगै समग्र पर्यटन उद्योगले तत्काल यसबारे सचेत नभए निकट भविष्यमै ठूलो समस्या बेहार्नुपर्ने चेतावनी दिए । उनले भने, ‘अहिले नै बजारमा दक्ष तथा सबै कुराको जानकारी भएको गाइड अभाव हुन थालिसकेको छ, गाइडहरु विस्तारै अन्य पेशातिर जान थालेका छन्, नक्कली गाइडको जालो बढ्दैछ जसले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे गलत सूचना जाने खतरा बढेको छ । यो कुराबारे तत्काल सोच्नुपर्ने बेला आएको छ ।’

यता टुरिष्ट गाइडहरुको छाता संगठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुरगान) का अध्यक्ष नगेन्द्र चन्द भने गाइड पेशा व्यवस्थित गराउन राज्य नै उदाशीन रहेको बताउँछन् । उनले गाइडलाई उचित पारिश्रमिकको व्यवस्थासँगै सुरक्षाको ग्यारेन्टी, बीमा लगायत सेवा सुविधाका लागि नीतिगत तहमै सुधारको खाँचो रहेको औंल्याए । उनले भने, ‘अहिले गाइडको तलब कति हो, कसले तोक्ने भन्ने कुराको स्पष्ट नीति नै छैन, पर्यटनभित्रका संगठनले सामान्य समझदारीका काम गरिरहेका छन्, यो समस्या बारे राज्यले नै गम्भीर हुनुपर्छ ।’ उनले एजेन्सीहरुले नेपाली गाइडलाई काम दिन समेत नचाहेर २÷४ चोटी नेपाल आएको विदेशीलाई नै काम दिने गरेको समेत बताए ।

ट्राभल एजेन्सीहरुको छाता सँगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सिज (नाट्टा) का महासचिव भिम पन्तकाअनुसार ट्राभल एजेन्सीहरुले टुरगानले तोकेको गाइडहरुको न्युनतम पारिश्रमिक लागु गर्ने कुरामा सहयोग गरेको दाबी गरे । उनले भने, ‘कहीँ कसैले गल्ती गरेको हुनसक्छ, तर अधिकांश ंएजेन्सीहरु तोकिएको दरभन्दा बढी नै पारिश्रमिकमा गाइडहरु हायर गर्ने गरेका छन् ।’

नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (नाथम) ले टुरगाइडलाई अनुमति पत्र प्रदान गर्ने गरेको छ । नाथमका कार्यकारी निर्देशक कृष्ण खरेलका अनुसार संस्थाले वार्षिक न्युनतम १ सय २० जनालाईलाई टुर गाइडको अनुमतिपत्र दिने गरेको छ । अहिलेसम्म करिब ३ हजार जनाले टुरगाइडको अनुमति लिइसकेको उनले बताए । जसमध्ये बजार १ हजारको हाराहारीमा मात्रै सक्रिय काममा देखिएका छन् । टुरगाइडको लाइसेन्स लिनका लागि कम्तीमा स्नातक तह उत्र्तिण गरेको र सन्बिन्धत भाषामा ज्ञान भएको हुनुपर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *