मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ ५ । सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा भूकम्पपछि पुनःनिर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता, लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गर्ने निर्णय गरेको छ ।

कोशी बाँध बगाउँदा स्थानीय जनतालाई भारत सरकारले दिने भनेको रु ५० करोड अहिलेसम्म नदिएको हुँदा त्यसबारे समेत भ्रमणमा छलफल हुनेछ । पञ्चेश्वर जलविद्युत् आयोजना, वाणिज्य व्यापार, सन् १९५० को सन्धि, नेपाल–भारत रेल्वेलगायतका बारेमा पनि भ्रमणमा छलफल हुने बताइएको छ ।

प्रतिकृयाहरु
Loading...