‘महासचिव भएर अध्यक्षमा फड्को मार्न खोज्नेहरुको हालत यस्तै भएको छ’

नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनमा अध्यक्षका लागि माओवादी निकट प्रेस सेन्टरबाट दुई जनाको उम्मेद्वारी पर्ने भएको छ । हाल महासंघको महासचिव समेत रहेका उजीर मगर र पूर्व उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन् भने प्रेस चौतारी नेपालबाट तीर्थ कोइरालाको उम्मेद्वारी परेको छ । उजीर मगर तिनै व्यक्ति हुन्,जसले केन्द्र पछिको दोस्रो ठूलो शाखा ललितपुरमा दुई कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भएर ९ वर्ष नेतृत्व गरिसकेका छन् । नेपाल पत्रकार महासंघको २५ महाधिवेशनमा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिन लागेका उनी आफ्नै समूहका आचार्य र विपक्षी कोइरालाबिरुद्ध मैदानमा उत्रिएका छन् । यसै सेरोफेरोमा रहेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश

मेरो उम्मेदवारी अध्यक्ष पदका दुई उम्मेदवार (तीर्थ कोइराला र गोविन्द आचार्य) विरुद्ध होइन भन्दै हिँड्नुभएको छ । यसो भन्नुपर्ने परिस्थिति कसरी बन्यो ?

मिडियाहरूमा के चर्चा भयो भने मेरो उम्मेदवारी गोविन्द आचार्य र तीर्थ कोइराला विरुद्ध हो। त्यो भ्रम चिर्नका लागि मैले त्यसो भनेको हुँ । पहिला महासचिवमा मेरो प्रस्तावक र समर्थक संगठन तत्कालीन क्रान्तिकारी पत्रकार संघ र प्रेस चौतारी भएकोले अहिले मेरो उम्मेदवारी ती संगठन विरुद्ध हो कि भनेर साथीहरूलाई भ्रम परेको हुँदा भ्रम चिर्न खोजेको हुँ। मेरो अभियान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभियान हो, श्रमजीवी पत्रकारको हकहीतको अभियान हो, पेशागत मर्यादाको अभियान हो र महासंघलाई साच्चिकै पेशाकर्मीहरूको महासंघ बनाउने अभियान हो। कसैलाई हराउँछु र जिताउँछु भन्ने छैन। कसैले विद्रोही, कसैले बागी भन्छ भने त्यो गलत हो किनभने नेपाल पत्रकार महासंघको म वैधानिक महासचिव हुँ र मैले महासंघको हेडक्वार्टरबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छु ।

अघिल्लो पटक प्रेस सेन्टरको प्रस्ताव र प्रेस चौतारीको समर्थनमा तपाईँ महासचिवको उम्मेदवार बन्नुभयो र जित्नुभयो। अहिले प्रेस सेन्टर र प्रेस चौतारीका आआफ्ना उम्मेदवार छन् तर तपाईँ आफै उनीहरूको प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा हुनुहुन्छ । तपाईँले उनीहरूका विरुद्ध होइन भने पनि त्यो आशंका त स्वभाविक भयो नि ?

म प्रगतिशील, वामपन्थी र जनपक्षीय पत्रकार हो। मेरो अहिलेसम्मको पृष्ठभूमि मैले नढाँटीकन भन्नुपर्छ । मैले मेरो पुस्तक ‘अंश’ मा पनि यो उल्लेख गरेको छु। उजिर अवसरवादी भयो कि व्यक्तिवादी भयो कि भन्ने कसैको आरोप छ भने म खण्डन गर्न चाहन्छु। कोही पनि भ्रममा नपरे हुन्छ। नेपाल पत्रकार महासंघको दोस्रो ठूलो शाखा ललितपुरमा मैले दुई कार्यकाल सचिव र एक कार्यकाल अध्यक्ष भएर ९ वर्ष नेतृत्व गरेँ । म त्यहाँ हुँदा प्रेस सेन्टर भन्ने संस्था जन्मिएको थिएन । र, अहिले प्रेस सेन्टरमा आवद्ध तमाम साथीहरू त्यहाँ हुनुहुन्थ्यो। मिलन नेपाली लगायतका साथीहरू त बेपत्ता पनि हुनुभयो । हिजो कृष्णसेन पक्राउ पर्दा पनि आवाज उठाउने संस्था यही हो । म गर्व गर्छु–नेपाल पत्रकार महासंघको शाखा अध्यक्ष रहेको बेला महासंघले गणतन्त्रको नारा लिनुपर्छ भनेर स्टाफ कलेजमा प्रस्ताव राख्दा ममाथि आक्रमण भएको थियो । यस्ता अपमानहरू मैले पटक पटक सहेको छु । मैले क्रान्तिकारी पत्रकार संघ र चौतारीले गरेको प्रस्ताव र समर्थन स्वीकारेको हुँ । मेरो संगठन र आबद्धता सोध्नुहुन्छ भने- मेरो आबद्धता के हो ? नेपाल पत्रकार महासंघ । मेरो अभियान के हो ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता । मेरो कर्म के हो ? पत्रकारिता। र, मेरो जिम्मा के हो? श्रमजीवी पत्रकारको हकहीतको रक्षा। मेरो १८ वर्षदेखिको निरन्तर अभियान यो भन्दा बिलकुल फरक छैन । मैले नेपालका ठूला दैनिक पत्रिकाहरूमा रिपोर्टिङ गरेको छु । कान्तिपुरमा स्ट्रिन्जरबाट काम सुरु गरेको थिएँ। म अहिले नागरिकमा बेतलबी बिदामा बसेको छु । एउटा ठूलो संगठनले तलाईँलाई भोट दिन्छु भन्छ भने नदेऊ भन्न मिल्ला र ? अर्को कुरा पत्रकार महासंघमा महासचिव भएको मान्छेको हालत जहिले यस्तै भएको छ । जो महासचिव भएको छ उसले जागिर छोडेको छ । जो महासचिव भएर अध्यक्षमा फड्को मार्न खोजेको छ– यस्तै पीडा भएको इतिहास छ । हिजो विष्णु निष्ठुरी, सुरेस आचार्यको पनि यही हो । महेन्द्र बिष्टलाई एक ठाउँमा टिकट दिइयो तर विद्रोही उठाएर हराइयो, पोषणजी दुई पटक हार्नुभयो । महासचिवहरूको क्रमभंग हुने क्रम एक कार्यकालमात्र भयो-ओम शर्माको पालामा। हरेक महासचिवले यो पीडा भोगेका छन् । उहाँहरूको प्रेरणाबाट मलाई गर्व लागेको छ । एउटा इतिहासको चक्रले मलाई पनि हानेको छ । दलले दिने भन्दा पनि अभियानको आवश्यकताको कुरा हो ।

दुई गठबन्धनका अध्यक्षका उम्मेदवारहरूसँग चुनावी मैदानमा उत्रिँदा कस्ता प्रतिक्रियाहरू पाउनुभएको छ ?

उहाँ दुईवटा उम्मेदवारहरूले परिचय दिँदै हिँड्नुभएको छ । एउटाले म पोलिटब्युरो सदस्य होइन, पत्रकार हो भन्दै हिँड्नुभाछ । अर्कोले मैले विगतमा यसोयसो गरेँ भन्दै हिँड्नुभाछ । यस्तो परिचय दिएर हाजिरी जवाफमा सहभागी नबनौँ । उहाँहरू त्यत्रो हुल बाँधेर कुदिरहनुभएको छ, म एक्लै हिँडिरहेको छु । पत्रकार महासंघको महाधिवेशनको ९९ प्रतिशत जिम्मेवारी महासचिवको काँधमा छ । भोलि हल थेग्ने यही उजिर मगर हो, भोलि साथीहरूको खानपिन, बसोबास मिलाउनुपर्ने जिम्मा मेरै छ । प्रमुख अतिथिलाई स्वागत गर्ने मेरै जिम्मा हो । पूरा महासंघको तीन वर्षको समीक्षा र भावी कार्ययोजना बनाउने र मेरो धारणा १५ सयभन्दा बढी पत्रकार साथीहरूबाट पारित गराउने मान्छे मै हो । म त भित्रकै, संस्थापन हो नि । मेरो समर्थन हरेक दिन बढिरहेको छ । अध्यक्षका उम्मेदवार दाइहरूले मेरो मत बढाइ दिइरहनुभएको छ । उहाँको अभिव्यक्ति, उहाँहरूले देखाएको व्यवहार, उहाँहरूको विगत, उहाँहरूको वर्तमान र सम्भावित भविष्यका कारणले गर्दाखेरी उहाँहरू मेरो प्रचार गरिरहनुभएको छ । उहाँहरूले मेरो मत मागेको हुँदा म अलि कन्फिडेन्ट नै छु । राम्रो प्रतिक्रिया पाएको छु । महासंघको संस्थापन भएको हुँदा मलाई स्वभाविक फाइदा छ ।

अध्यक्षका तीन उम्मेदवार मध्ये मतदाताले उजिर मगरलाई नै किन मत दिने ?

उजिर मगरको १८ वर्षसम्मको इतिहास हेर्नुस्, पत्रकारिता स्वयं अर्काइभ पनि भएको हुँदा सत्य पत्रकारले उजिरलाई चिन्छ । उजिरले के गरिरहेको छ, उसको जीवनपद्धति के छ, उजिरले के विषय उठाएको छ । जित्दा एउटा अभियानले जित्छ । प्राविधिक रुपमा दुई चार मतले हारेमा ७ गतेदेखि तपाईँसँग रिपोर्टिङमा हुन्छ, फेरि बाइलाइन लेख्छ। त्यसरी बुझ्नुस् ।

तपाईँलाई सोध्नैपर्ने प्रश्न छ–समाचारमा मोलमोलाइको आरोप लागेका एकजना केन्द्रीय सदस्यका बारेमा महासंघले छानबिन गर्याे । तपाईँ संयोजक रहेर निकालेको छानबिन प्रतिवेदन पनि विवादित भयो । उहाँ चुनावी मैदानमै रहेको विषय पनि यसबीचमा सार्वजनिक भयो । उहाँले आरोप स्वीकार गरिसकेको, महासंघले सार्वजनिक रुपमा माफी माग भनेको अवस्थामा यसलाई महासंघले कसरी हेरेको छ ?

चुनावी माहौलमा यस्ता कुरा नगरौँ । त्यस्ता आधार धेरै पत्रकारका छन् । कोही बलात्कारमा छन्, कोही रक्तचन्दनमा छन्, कोही आपराधिक केसमा छन्, कसैले कुनै सत्ताको भत्ता खाएका छन्, कोहीले प्रेस स्वतन्त्रता हनन् गरेका छन् । ठूलो संस्था छ, बाग्मतीमा जस्तै यहाँ पनि फोहोर जमेको छ । चुनावका बेलामा यस्ता फोहोरका बारेमा टिप्पणी नगरौँ ।

महाधिवेशन भोलिदेखि छ । सबै केन्द्रीय सभासद काठमाडौं आइपुग्नुभयो ? तयारी कहाँ पुग्यो ?

केही साथीहरू बीच बाटोमा हुनुहुन्छ । केही साथीहरू जहाजको प्रतिक्षामा हुनुहुन्छ । मुगु, हुम्ला, जुम्लातिरका साथीहरू बाटोमा हुनुहुन्छ । ४÷५ दिन नै लाग्छ। बाजुरा, बझाङका साथीहरू नेपालगञ्ज आइपुग्नुभएको छ। पूर्वका साथीहरू पनि आउँदै हुनुहुन्छ । तीन वर्षमा आउने पत्रकारको महापर्व हो । स्वभाविक रुपमा जोखिममा छौँ । हामीलाई जोखिम कहिले भएको छैन र ? बाढीपहिरोको खबर यसैले लेख्छ, भूकम्पको खबर, सशस्त्र द्वन्द्व, दसैँतिहार भन्न नपाइने। पत्रकारले सहज रुपमा लिएका छन् ।

बसोबास खानपानको व्यवस्था कसरी मिलाउनुभएको छ ?

बाहिरबाट आएका साथीहरूलाई सुन्धारा, ठमेल, जमल लगायतका स्थानका होटलमा बस्ने व्यवस्था मिलाएका छौँ । एउटा कोठामा दुईजना बस्नुहुन्छ । महिला साथीहरूलाई अलगै व्यवस्था मिलाइएको छ । स्वास्थ्यमा केही पर्छ कि भनेर केन्द्रीय सदस्य रोसन पुरीको नेतृत्वमा स्वास्थ्य किट्सहरू तयार पारेका छौँ । महासंघले के के र्गयो भनेर गतिविधिहरू समेटेर पुस्तकहरू तयार छन्। व्यापारिक घरानासँगको सहकार्यमा झोलाहरू लिएका छौँ । वर्षायाम छ, खानपानमा ध्यान दिनुपर्छ । गुणस्तरीय खानाको व्यवस्था गरेका छौँ। त्यसको जिम्मा सिद्धार्थ कटेजलाई दिएका छौँ । साथीहरू अट्नुहुन्न भनेर राष्ट्रिय सभागृहमा उद्घाटन, मदतान र मतगणना महासंघ केन्द्रीय कार्यालयमा गर्ने व्यवस्था गरेका छौँ ।

महाधिवेशनको कार्यतालिका के छ ?

आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्छौँ । ४ गते बन्दशत्र र उम्मेदवारी मनोनयनको काम हुन्छ । उम्मेदवारीको मनोनयन दर्ता ४ गते १२ बजेदेखि ३ बजेसम्म हुन्छ । पौने ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्छौँ । साँझसम्म त्यसविरुद्ध दावीविरोध र नाम फिर्ता गर्न दिइन्छ । उम्मेदवारको अन्तिम नामावली पाँच बजे प्रकाशन गरिन्छ । ५ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदानको कार्यक्रम हुन्छ । मतदान सकिएपछि केन्द्रीय कार्यालयमा मतगणना हुन्छ ।

                                      मिडिया कुराकानी अनलाइनबाट साभार 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *