भरतपुर महानगरमा तीव्र गतिमा राहत वितरण : अघि अघि रेणु पछि पछि पार्वती ‘म्याडम्’

किशोर खनाल

भरतपुर,भदौ ३ । चितवनमा बाढीपीडितलाई विभिन्न संघसंथा तथा निकायहरुबाट राहतको ओइरो आइरहेका बेला भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई राहत वितरणमा जुटसँग व्यस्त छिन् । राहत वितरणसँगै उनी सबैलाई सल्लाह र सुझाव दिइरहकी छिन् । राहत वितरणमा उनीसँगै उप–प्रमुख पार्वती पार्वती शाह उनको पछि पछि छिन् ।

बाढीबाट प्रभावित भरतपुर महानगरको पश्चिमी क्षेत्रमा प्रचण्डपुत्री मेयर दाहाल निरन्तर बाढीपीडितसँग भेटघाट, राहत वितरणसँगै पीडितहरुको गुनासो सुन्नमा व्यस्त छिन् । उनीसँगै भरतपुर महानगरकी उपमेयर पार्वती शाह राहत वितरणमा लागिपरेकी छिन् । मेयर,उपमेयरसहित वडाका निर्वाचित जनप्रतिनिधिहरु भरतपुरका बाढीपीडितहरुलाई राहत वितरण गरिरहेका छन् । आज दिनभर चितवनमै रहेर राहत वितरण गर्ने कार्यक्रम रहेको छ ।

राहत वितरणका क्रममा रत्ननगर नगरपालिका मेयर नारायण वन, माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितका जनप्रतिनिधिलाई अहिले राहत व्यवस्थापन र वितरणमा भ्याइनभ्याइ छ । राहत माडीकेन्द्रित हुँदा यहाँका जनप्रतिनिधिलाई राहत व्यवस्थापनमा केही असहजता भए पनि राहत पाउनबाट कोही पनि नछुटेको माडी नगरपालिकाका मेयर ठाकुर ढकाल बताउँछन् ।

त्यस्तै,चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बाढीपीडितको तत्कालीन उद्धार र उद्धारपछिको राहतमा कुनै कमी नभएको बताए । राहतका लागि सरकारी मानव स्रोत र साधनको व्यापक प्रयोग भएको जानकारी दिँदै प्रजिअ भट्टले भने, ‘चितवनमा बाढीपीडितले गुनासो गर्ने ठाउँ राखेका छैनौँ ।’

जिल्ला दैवीप्रकोप राहत कोषमा दुई करोड रुपैयाँ रहेको जानकारी दिँदै प्रजिअ भट्टले आवश्यक पर्दा उक्त रकम खर्च गर्न सकिने बताए । साथै उनले बाढीपीडितका लागि भन्दै गृहमन्त्रालयले केही दिनअघि ७ लाख रुपैयाँ पठाएको बताए ।

सांसदचाहिँ अनुगमनमा !
चितवनका सांसद कृष्णभक्त पोखरेलसहित एमालेका केन्द्रीयस्तरका नेताहरूले रत्ननगरको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । एमालेका जिल्ला अध्यक्षसमेत रहेका पोखरेलको नेतृत्वमा गएको टोलीले वडा नं ८ को बगरटोल सुकुमबासी बस्ती, रमाइलो सुकुमबासी बस्ती, मालपुर, सौराहा, बछौली र मगरटोलको सकुमबासी बस्तीको अनुगमन गरेको हो ।

टोलीमा मेयर नारायण वन, उपमेयर विमला दुवाडीसहित नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल, केन्द्रीय सल्लाहकार देवी ज्ञवाली, प्रदेश कमिटी सदस्य विजय सुवेदी, जिल्ला सचिवालय सदस्य कृष्णराज लब्लीलगायतको सहभागिता रहेको थियो ।

विभिन्न सङ्घ संस्थाहरूको सहयोग
रत्ननगर उद्योग वाणिज्य सङ्घले बाढीपीडितहरुलाई राहत वितरण गरेको छ । सङ्घले रत्ननगर–५ स्थित मगरटोलका पीडितहरुलाई शुक्रवार करिब दुई लाख बराबरको राहत वितरण गरेको हो । आफ्ना व्यवसायीहरुबाट सङ्कलन गरेको रकमले मगरटोलका ७० घर परिवार बाढीपीडितलाई वितरण गरिएको सङ्घका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दुवाडी, रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतोसहित पत्रकारको रोहवरमा सङ्घले राहत वितरण गरेको थियो ।

यसैबिच, लायन्स क्लब अफ चितवन राईनो सिटीले रत्ननगर–४, स्थित सेरी र देबौलीका बाढीपीडित १९ घरपरिवारलाई राहत वितरण गरेको छ । यस्तै लुमन्ती आवासका लागि सहयोग समूह रत्ननगरले बाढी प्रभावित सुकुमबासी बस्तीमा त्रिपाल र ब्लाङकेट वितरण गरेको छ । रत्ननगर–८ बगर टोलका १८ र रमाइलो टोलका २० घरपरिवारलाई प्रति परिवार एक÷एक थान त्रिपाल र ब्लाङकेट वितरण गरिएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं १० घर भई हाल चीनमा हुनान ह्वादियन ईण्डष्ट्रियल कम्पनी लिमिटेडका सञ्चालन गरिरहेका डा विश्वास श्रेष्ठ र उनका परिवारजनका तर्फबाट वाढीपीडितको सहयोगार्थ भरतपुर महानगरपालिका कार्यालयलाई एक लाख एक सय एक रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । हिजो शुक्रवार महानगर कार्यालयमा श्रेष्ठ परिवारले एक औपचारिक कार्यक्रमबिच विपद् व्यवस्थापन कोष भरतपुर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

श्रेष्ठको राहत मेयर र उपमेयरले बाँडे  

कार्यक्रममा डा.श्रेष्ठका बुबा विष्णुकमार श्रेष्ठ र आमा किरणकुमारी अधिकारी श्रेष्ठ र कम्पनीका सल्लाहकार नरेश अधिकारीले सहयोग रकम महानगरप्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह र कार्यकारी अधिकृत प्रेमराज जोशीलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

सो क्रममा महानगर प्रमुख दाहालले बाढीपीडितका लागि प्राप्त सहयोगहरु पारदर्शी तबरले वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । यसैबिच, फलफुल तथा तरकारी थोक व्यवसायी सङ्घ चितवनले भरतपुर–२८ का बाढीपीडितहरुलाई बाल्टिन, नुन, चामल, दाल, तन्नालगायतका सामग्री वितरण गरेको सङ्घका महासचिव मुकुन्दप्रसाद गौतमले जानकारी दिए ।
कार्यक्रमको सङ्घका अध्यक्ष थीरप्रसाद धितालको अध्यक्षतामा एवम् उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र विपद् व्यवस्थापन समितिका संयोजक बालकृष्ण कँडेलको रोहवरमा एक लाख ४४ हजार २ सय बराबरको राहत सामग्री हस्तान्तरण गरिएको थियो ।

रत्ननगर नगरपालिका वडा नं ८ बगरटोलका बाढीपीडित सुकुमबासीहरुलाई शुक्रवार राहत वितरण गरिएको छ । बाढीले घरविहीन भएका त्यहाँका पीडितहरुलाई रेष्टुरेण्ट एण्ड बार एसोशिएसन (रेवान) सौराहा र सपना भिलेज सोसल इम्प्याक्टले राहत वितरण गरेको हो । दुई संस्थाले बाढीपीडितलाई लामो समयसम्म पुग्ने गरी प्रतिघर एक बोरा चामल, आलु, तेल, नुन र मस्यौरा वितरण गरेको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।

त्यसै गरी काठमाडौँका एक दम्पतीले राहत वितरण गरेका छन् । काठमाडौँ निवासी हरिबहादुर थापा र उनकी धर्मपत्नी भीमकुमारी थापाले चामल, दाल, तेल, चिउरालगायत लत्ताकपडा सहयोग गरेका हुन् ।

त्यसै गरी वडा नं ७ का बाढीपीडित सुकुमबासीहरुलाई पनि शुक्रवार राहत वितरण गरिएको छ । सौराहामा रहेको होटेल रोयल सफारीका सञ्चालक शम्भुप्रसाद मालीले १७ घरपरिवारलाई चामल, तेल, नुन र कपडा सहयोग गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *