सुत्केरी र शिशु जोगाउनै मुस्किल

भदौ २, नेपालगन्ज । अघिल्लो साँझदेखि नै सुरु भएको झरी बिहान झिसमिसे हुँदा पनि थामिएको थिएन । शौच गर्न उठेका नरबहादुर पुनले आँगनमा पानी भरिएको देखे । फर्केर पालीमा पस्दा नपस्दै उनी सुतेको ओछ्यानसम्मै पानीले भरियो । करिब पाँच सय मिटर टाढाको राप्ती नदीमा उर्लिएको भेलको आवाज रातभर कानमा ठोक्किइरहेकै थियो । तर पनि उनले घरै बगाउला भन्ने सोचेका थिएनन् ।

बाँकेको राप्ती सोनारी-६ डाँडा टेपरीका पुनको छिमेकीका घरमा भाले बास्दै थियो । हेर्दा हेर्दै उनको घर भने बाढीले बगाउन थाल्यो । हतारमा पत्नी, छोरा र गर्भवती बुहारीलाई लिएर बाटोमा निस्किए । पत्नी र बुहारी बाटोमै बसे, बाबु-छोरा मिलेर सामान निकाल्न थाले । त्यसैबेला बुहारी पुष्पालाई सुत्केरी व्यथा लाग्यो । चारैतिर पानी भरिसकेको थियो, अस्पताल पुर्‍याउन सकिने अवस्था थिएन ।

‘पुरै फत्तेपुर पानीले भरिएको थियो । सबैको घरमा पानी पसेको थियो । सबै आफ्नो जोगाउन व्यस्त थिए,’ हरिबहादुरले सम्झिए, ‘हाम्रो पुकार कसले सुनिदिने र प्रहरी पनि बाढीले चौकीमै थुनिएका थिए ।’

पुष्पालाई बाढी नपसेको आफन्तको घरमा पुर्‍याइयो । त्यहीँ उनले १८ घण्टापछि छोरो जन्माइन् । उनलाई अहिले आफन्तको घरको छतमा पाल टाँगेर राखिएको छ ।

‘सुत्केरी बुहारीलाई खुवाउने पोषिला खानेकुरा बाढीले बगायो । अरूले दिएको चामल र चिउराले गुजारा चलाउनु परेको छ,’ नरबहादुरकी पत्नी धनसरीले भनिन्, ‘पीडामै जन्मेको नातिले मन बहलाउने बहाना दिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *