पोखरा बस व्यवसायी समिति द्धारा नगरबसमा जिपिएस प्रणाली जडान

पोखरा, भदौ १ । पोखरा बस व्यवसायी समितिले पोखरा नगर क्षेत्रभित्र सञ्चालन भइरहेका नगरबसमा जिपिएस (सोलुसन) प्रणाली जडान गरेको छ । नगर क्षेत्रमा गुडिरहेका नगरबसको अवस्थाका बारेमा समितिको कार्यालयबाटै जानकारी होस् भन्ने उद्देश्यले उक्त प्रणाली लागू गरिएको समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।

कहिलेकाहीँ कर्मचारीको बदमासीले तोकिएको रुटमा बस नचली अन्यत्रै चल्ने, यात्रु कम भए भनेर बीचबाटोबाटै गाडी फर्काउने, नगरबसको गति शहरी क्षेत्रभित्र ४० र ग्रामीण क्षेत्रमा ३० किमी प्रतिघण्टा हुनु पर्नेमा नभएकालगायत गुनासा आएकाले सो प्रणाली लागू गर्नुपरेको उनले बताए ।

उक्त प्रणाली लागू भएपछि बसधनीले आफ्नो मोबाइलबाटै जानकारी पाउने, बस दुर्घटनामा परे वा अरु कसैलाई ठक्कर दिए सजिलैसँग घटनाको वारेमा र बसको नम्बर पत्ता लगाउन सुरक्षा निकायलाई सजिलो हुने बताइएको छ ।

जिपिएस प्रणाली जडान गर्न समितिले रु ८० लाख खर्च गरेको छ । यसका लागि समितिले एक इन्जिनियर, एक सवइन्जिनियर र अन्य चारजना प्राविधिकलाई रोजगारी मिलेको छ । समितिले गत साउन २० गतेबाट दुईवटा रुटबाट राति ९ बजेसम्मका लागि सन्ध्याकालीन बससेवा शुरु गरेको छ । नगरवासीलाई राति अबेरसम्म नगरबसको सेवा दिने उद्देश्यले उक्त सेवा दिन थालिएको हो ।

पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वडा मध्ये ३१ वडा लगायत  माछापुच्छ्रेमादी र अन्नपूर्ण गाउँपालिकामा ३ सय ७८ वटा बसबाट समितिले सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *