भारतमा ८ दिनमा ३४ कृषकद्वारा आत्महत्या

नयाँदिल्ली, भदौ १ । भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठदिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् ।

राज्यका आठजिल्लाका स्थानीय अधिकारीहरूले संकलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सन्चालित ‘अल इन्डीया रेडियो’ले बिहीबार (आज) जनाएको छ ।
यही अगस्त ६ देखि १३ गतेसम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको अधिकारीले जानकारी दिएका छन् ।

बर्षाको समयमा पनि औषतभन्दा कम बर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ । किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए ।
सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सन्चार माध्यमले जनाएका छन् ।

गत हप्तामात्रै भारतको आर्थिक राजधानी मुम्बइमा किसानले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले सरकारी जागिर र शैक्षिक संस्थामा कृषकका लागि छुट्टै कोटाको व्यवस्था गर्न पनि माग गरेका थिए ।

प्रदर्शनकारीले आफुहरूको ऋण मिनाह गर्ने सूचीमा राखिदिन पनि सरकारी पक्षसँग आग्रह गरेका छन् ।

महाराष्ट्र राज्यमा माराठा समुदायको एकतिहाई जनसंख्या रहेको र उनीहरु अधिकांश कृषि पेशामा आवद्ध रहेका छन् । भारतमा पछिल्ला केही समय कृषिका लागि प्रतिकुल मौसम भएकाले कृषक पीडित भएका हुन् । कहिले सुख्खा हुने त कहिले अत्यधिक बर्षा भएर बाढीको असर पर्ने गरेको छ ।

जलबायु परिवर्तनका कारण गत तीनबर्षको अवधिमा भारतमा ५९ हजारभन्दा बढी जनाले आत्महत्या गरेको गतहप्ता सार्वजनिक भएको क्यालिफोर्निया विश्वविद्यालयको एकअध्ययनले देखाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *