प्रधानमन्त्री देउवाद्वारा बाढी र डुबान क्षेत्रको अवलोकन

काठमाडौं, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ । कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई रु दुई लाख दिने निर्णय गरेको छ ।गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु दिदीबहिनीको मृत्यु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यहाँ उपस्थित त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमाटठ, नून, खाने तेल, पिउने पानी र त्रिपाल प्रदान गर्नुभएको थियो । बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन प्रधानमन्त्रीले दिनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्पmबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गर्नुभयो । बाँके जिल्लाको कार्यक्रम सकेर उहाँ बर्दिया र कैलाली जिल्ला तर्फ प्रस्थान गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *