अक्सफोर्ड कलेजद्वारा एक लाख बढी सहयोग

साउन ३२, गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर २ मा रहेको अक्सफोर्ड कलेजले बाढीपीडितलाई राहत स्वरुप १ लाख १ हजार नगद सहयोग गर्ने घोषणा गरेको छ । भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रममा कलेजका सञ्चालक तथा संस्थापक प्रिन्सिपल ई हरि भण्डारीले भरतपुर महानगरका बाढीपीडितलाई राहत स्वरुप १ लाख एक हजार सहयोग गर्ने घोषणा गरेका हुन् । उनले भरतपुर महानगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक भरतपुरस्थित विपद् व्यवस्थापन कोष भरतपुर महानगरपालिकाको खाता नम्बर ६२४१ मा रकम जम्मा गर्ने बताए ।

बाढीबाट प्रभावित भएकाहरुलाई सहयोग गर्न इच्छुक व्यक्ति, विभिन्न संघसंस्थाले उक्त बैंक खातामा रकम जम्मा गर्न सक्ने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताइन् । अक्सफोर्ड कलेजले भरतपुर र गैंडाकोट नगरपालिकाका नवनिर्वाचितलाई घडी प्रदान गरेर कार्यकालको शुभकामना दिएको थियो ।

कार्यक्रममा भरतपुर महानगरकी मेयर दाहालले आफू कुनै पार्टीको मात्र मेयर नभएको र सम्पूर्ण भरतपुर महानगरवासीको मेयर भएको बताइन् । उनले भनिन्, ‘म कुनै पनि दलगत स्वार्थमा लाग्दिनँ, महिलाले नेतृत्व गरेको देशको एकमात्र महानगर भरतपुर महानगरलाई बनाउँछु । ५ वर्षमा धेरै गर्न सकिन्छ, म गरेर देखाउँछु ।’

त्यस्तै भरतपुर महानगरकी उपमेयर पार्वती शाहले आफू सबैको साझा जनप्रतिनिधि भएको हुँदा सबैलाई समान दृष्टिले हेरिने बताइन् । गैंडाकोट नगरपालिकाका उपमेयर विष्णुकुमारी कँडेलले हुने खानेहरुले मात्र होइन, हँुदा खानेहरुले पनि शिक्षामा पहुँच हुनुपर्ने बताएकी थिइन् ।

कार्यक्रममा भरतपुर महानगरका वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले जनप्रतिनिधिलाई अक्सफोर्ड कलेजले घडी उपहार दिएर बलवान् समयको महत्व र यसप्रति हेक्का राख्न सबैलाई सजग गराएको भन्दै धन्यवाद दिएका थिए । गैंडाकोट नगरपालिकाका वडा नम्बर २ का वडाध्यक्ष धुव्रराम पौडेलले नारायणी नदी किनारको विकासमा दुबै नगरपालिकाको एउटै धारणा बन्न आवश्यक रहेको बताए ।

अक्सफोर्ड कलेजका संस्थापक प्रिन्सिपल तथा कार्यक्रमको अध्यक्षता गरेका ई. हरि भण्डारीले विकास र शिक्षा एकअर्काको परिपुरक रहेको बताए । उनले भने, ‘शिक्षा खोजमुलक र वैज्ञानिक हुनुपर्छ ।’ उनले तत्काल स्थानीय शिक्षा नीति बन्न शैक्षिक क्षेत्रका दिग्गज व्यक्तिहरुबीच बहस तथा अन्तक्र्रिया हुनुपर्ने बताए । स्थानीय क्षेत्रलाई हेरेर पाठ्यक्रम बन्नपर्ने उनको भनाइ थियो । कार्यक्रममा अक्सफोर्डले आफ्नो परिचय दिने भिडियो क्लिप प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *