पाँचथरमा पहिरोका कारण चारजनाको मृत्यु
“
ताप्लेजुङ, साउन २७ । पाँचथरमा पहिरोमा पुरिएर एकै परिवारका तीनसहित चारजनाको मृत्यू भएको छ । पहिरोमा परेर एक महिला घाइते हुनुभएको छ । दुई घरमा क्षति पुगेको छ । मृत्यू हुनेमा फालेलुङ–३ ताङ्लेपाका विष्णु भक्त राई उहाँकी छोरी गंगामाया र नातिनी प्रिया राई रहेको प्रहरीले जनाएको छ । विष्णुकी श्रीमती सञ्चमाया राई शौचालय गएका कारण बच्नु भएको छ ।
उहाँ सामान्य घाइते हुनु भएको छ । चुक्पादिन भन्ने स्थानमा जलविद्युत आयोजनामा अपरेटरको काम गर्दै आएका विष्णु परिवारसहित बस्दै आएको घर पहिरोले पुरेको हो । यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा मृत्यु भएको छ । आज बिहान ८ बजे खसेको पहिरोमा पुरिएकाहरुको शव भैरवी दल गणबाट खटिएको नेपाली सेनाको टोलीले निकालेको हो । पहिरोले ताङलेपा लघु जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ ।
लगातार परिरहेको पानी र ठाउँठाउँमा गएको पहिरोका कारण माङलेबुङ, बुङ्खिडाँडा र खोलाघारी गाउँका करिब ५० घर पहिरोको जोखिममा परेका छन । पहिरोका कारण प्रहरी भने अझै घटनास्थलमा पुग्न सकेको छैन ।
“