मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

व्यवसायीको मागमा नेपाल आयल निगम लचिलो

साउन २७, काठमाडौँ । तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका व्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीबार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको निगम स्रोतले जानकारी दियो ।

सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर पुर्‍याइएको छ ।

पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दाबी गर्दै सोअनुसार क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा छन् । त्यस्तै, डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको छ ।क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीबारदेखि निगमसँग पेट्रोल-डिजेल किन्नै छाडेका छन् । माग सम्बोधन नभए ३१ गतेदेखि पेट्रोलियम बिक्री नै ठप्प पार्ने व्यवसायीको चेतावनी छ । निगमले क्षतिपूर्ति बढाएपनि व्यवसायीले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रतिकृयाहरु
Loading...