सरकारले १० दिन भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने
“
साउन २३, मकालु खबर । सरकारले १० दिन भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ १ गते भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उहाँले अव १० दिन भित्रै प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी भईरहेको जानकारी दिनु भएको हो ।
भदौ १ गते भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्री सहमत हुनु भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनु भयो । त्यस अवसरमा निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारणको काम छिटो सक्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको थियो ।
निर्वाचन आयोगले आगामी मंसीर पहिलो हप्ता भित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनेगरी सरकार समक्ष कार्ययोजनानै पेश गरेको छ । आगामी माघ ७ गतेभित्र आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक दायित्व छ । सोही दायित्व पूरा गर्न पनि आयोगले सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने काममा ढिलाई नगर्न पटक–पटक आग्रह गर्दै आएको छ ।
“