कतै जागिर नपाएपछि मौरीपालन
“
निमदत्त सुवेदी, पोखरा । पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बन्नुभएको छ । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले ९० वटा घारबाट मह उत्पादन गर्दै आउनुभएको छ ।
मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब रु एक करोड पर्ने घर घडेरी जोडेको लामिछाने बताउनुहुन्छ । दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उहाँको भनाइ छ । दाजुबाट दुई गोला मौरी किनेर उहाँले मौरीपालन थाल्नुभएको हो ।
वि सं २०६३ देखि व्यवसायमा लाग्नुभएका लामिछानेले अहिले मौरीका घार निर्माण, मौरीजन्य सामग्री, झोला, टोपी, पञ्जा, मह निकाल्ने मदानी बिक्री तथा तालीम दिएबापत सेवा शुल्क लिने गर्नुहुन्छ । वार्षिक २० किलो मह उत्पादन हुने गरेको लामिछानेले बताउनुभयो । उत्पादन भन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन । लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गर्नुभएको छ । एक वर्षमा रु ३० लाखदेखि रु ३५ लाखको कारोबार हुन्छ । उहाँकी श्रीमती लक्ष्मीले रु १५ लाखको लागतमा मौरी किचन कर्नर व्यवसाय सञ्चालन गर्नुभएको छ ।
अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसक्नुभएको छ । लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने गर्नुभएको छ । शुरुमा लेखनाथ उद्योग वाणिज्य संघको सहयोगमा सामान्य तालीम लिनुभएका लामिछानेलाई उत्कृष्ट मौरीपालक कृषकका रुपमा गत वर्ष युवा परिषद्ले रु ५० हजार राशिको राष्ट्रिय पुरस्कारबाट पनि सम्मान गरेको थियो ।
स्नातक तह उत्तीर्ण गरेका ३३ वर्षीय लामिछाने मेहनत र परिश्रम गर्न सके आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय युवा उद्यमी कृषक बन्न सफल हुनुभएको छ । उहाँले अहिले पाँचजनालाई रोजगारी दिनुभएको छ ।जिल्लामा वार्षिक पाँच मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत स्तुति आचार्य बताउनुहुन्छ । जिल्लामा अहिले चार हजार मौरीका आधुनिक घार रहेका छन् । बाह्य तथा आन्तरिक पर्यटक आउने हुनाले यहाँको उत्पादनले नपुग्ने र करिब २० देखि २५ प्रतिशत मह अन्य जिल्लाबाट आयात गरिँदै आएको उहाँको भनाइ छ ।
जिल्लाका ढिकुरपोखरी, ल्याङ्घलेल, सैमराङ, भाचोक, भरतपोखरी, बेगनास, थुमाकोडाँडा, पुम्दीभुम्दी, निर्मलपोखरी, किस्तीनाच्नेचौर, भदौरेतमागी, लामाचौर र घाचोक मह उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लामा करिब रु एक करोड २० लाख बराबरको मह उत्पादन हुने गरेको बाली संरक्षण अधिकृत आचार्य बताउनुहुन्छ । रासस
“