डर्टमुण्डलाई पराजित गर्दै बायर्नले जित्यो सुपर कपको उपाधि

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमुण्डलाई  पराजित गर्दै जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । डर्टमुण्डको घरेलु मैदान सिग्नाल इडुना पार्कमा भएको खेलमा बायर्नले पेनाल्टीमा ५-४ ले जित हात पारेको हो ।

निर्धारित ९० मिनेट समयको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिनु परेको थियो । खेलको १२ औं मिनेटमा क्रिस्टियन पुलिसिकले घरेलु टोलीलाई अग्रता दिलाएपनि त्यसको ६ मिनेट नबित्दै बायर्न खेलमा फर्कियो । रोबर्ट लेवानडोस्कीले जोसुवा किम्मिचको पासमा सहजै गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

दोश्रो हाफमा डर्टमुण्डका फरवार्ड पिएर एमेरिक औबामेयाङले ७१ औं मिनेटमा उत्कृष्ट गोल गर्दै  टोलीलाई पुन अग्रता दिलाए । ओस्मान डेम्बेलेको पासमा औबामेयाङले करिब १३ मिटर टाढाबाट आफ्नो खुट्टाको बाहिरी भागले गरेको प्रहार गोलरक्षक स्वेन अल्रीचको माथिबाट जाँदै गोल भएको थियो ।

तर, खेलको ८८ औं मिनेटमा बायर्नले पुन: गोल फर्कायो । क्रसबारमा लागेर फर्किएको सटलाई क्लियर गर्न नसक्दा भिडभाडमा किम्मिचले गरेको फितलो प्रहार डर्टमुण्डका लुकास पिस्जेक र गोलरक्षक रोमन बुर्कीलाई लाग्दै गोल भएको थियो । त्यसपछि खेलको छिनोफानो पेनाल्टीबाट लिइएको थियो ।

पेनाल्टीमा पनि डर्टमुण्डले सुरुवातमा अग्रता लिएको थियो । किम्मिचले प्रहार गरेको पेनाल्टी गोलरक्षक बुर्कीले बचाएपनि सबास्टियन रोड आफ्नो पेनाल्टीमा चुकेपछि खेल बराबरीमा आयो । त्यसपछि अल्रीचले मार्क बार्टराको पेनाल्टी बचाउ गरेसँगै बायर्नले उपाधि हात पार्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *