बार्सिलोनाले डिबालालाई भित्र्याउन ठुलो रकमको प्रस्ताव गर्ने तयारी
“
एजेन्सी – नेयमारको प्रस्थानसँगै बार्सिलोनामा रिक्त रहेको फरवार्डको भूमिकामा पदपूर्ति गर्ने आशा गरिएका युभेन्टसका पाउलो डिबालालाई क्लबले आफ्नो भविष्यबारे सोच्न भनेको छ । बार्सिलोनाले डिबालालाई भित्र्याउन ठुलो रकमको प्रस्ताव गर्ने तयारी गरिरहँदा युभेन्टसले यस्तो निर्णय लिएको हो ।
युभेन्टसले आफैंले उनलाई बेच्न नचाहेपनि खेलाडीको निर्णयलाई नै अन्तिम निर्णय मान्ने बुझिएको छ । यसअघि पल पोग्बाको ट्रान्सफरमा पनि क्लबले खेलाडीको निर्णयलाई मानेरै विश्व कीर्तिमानी रकममा ट्रान्सफर भएको थियो । यसपटक भने डिबालाको ट्रान्सफरमा अझै ठुलो प्रस्ताव आउने सम्भावना रहेको छ । बार्सिलोनाले पिएसजीबाट नेयमारको ट्रान्सफरमा २ सय २२ मिलियन युरो पाएसँगै युभेन्टसले पनि १ सय मिलियन माथिको माग राख्ने बुझिएको छ ।
तर, युभेन्टसले बार्सिलोनाबाट मिडफिल्डर आन्द्रे गोमेस र राफिन्हालाई प्रस्तावमा संलग्न गरिने सम्भावना पनि रहेको बुझिएको छ । युभेन्टसले उक्त खेलाडीहरु माथि आफ्नो इच्छा देखाएको र बार्सिलोनाको रोजाईमा पनि पर्न नसकेको हुनाले ट्रान्सफरको सम्भावना प्रवल रहेको छ । प्रि सिजनमा युभेन्टसका लागि राम्रो प्रदर्शन गरेका डिबालाले क्लब छाड्ने वा बस्ने विषयमा निर्णय भने लिएका छैनन् ।
डिबालासँगै बार्सिलोनाले डर्टमुण्डको ओस्मान डेम्बेले र लिभरपुलका फिलिपे कौटिन्होमाथि पनि नजर लगाइरहेको छ । सिजनको सुरुवात अघि नै ट्रान्सफरको सम्पूर्ण कार्यक्रम पुरा गर्ने लक्ष्य लिएपनि अन्य क्लबले आफ्ना खेलाडीलाई सजिलै छाड्न मान्ने छैनन् । लिभरपुलले निरन्तर कौटिन्होलाई नबेच्ने बताउंदै आएपनि बार्सिलोनाले भने मोटो रकम तिरेरै भएपनि उनलाई भित्र्याउने योजना बनाएको छ ।
“