के भन्छन् राजनीतिमा लागेका कलाकार ?

काठमाडौं, साउन २१ ।

प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ (कोमल वली, गायिका तथा राप्रापा नेतृ​ )
‘राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने इच्छा त हुन्छ नै । जसरी कर्मचारीलाई सचिव, मुख्यसचिव बन्ने चाहना हुन्छ । मन्त्री, प्रधानमन्त्री बनेरै देशको सेवा गर्न राजनीति सुरु गरेकी छु ।’

कलाकारितालाई देखाउने दाँत बनाएर आउने पनि छन् (-चेतन सापकोटा, संगीतकार​)
‘कलाकारितालाई देखाउने दाँत बनाएर राजनीतिमा आउने धेरै छन् । यस्ताले राजनीतिक स्वार्थपूर्तिका लागि राजनीति गरेका हुन्छन् । यहाँ क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्ने र स्वार्थ पूरा नभएपछि पेसा परिवर्तन गर्ने प्रचलन धेरै छ । मिडियामा छाउन पार्टी परिवर्तन गर्ने पनि छन् । कलाकार राजनीतिमा आइसकेपछि उसले कलाकारिता क्षेत्रको परिवर्तनका लागि आवाज उठाउनुपर्छ ।’

दलहरूले प्रयोग मात्र गरे (बद्री पंगेनी, लोकदोहोरी गायक​)
‘कलाकार मात्र होइन, सबैमा राजनीतिक चेत हुन जरुरी छ । म सांसद मन्त्री हुन्छु भनेर राजनीतिमा आएको होइन । राजनीति बुझ्न आएको हुँ । नेपाली कलाकारले राजनीतिमा आउन ढिला गरेर गल्ती गरेका छन् । तर, दुःखद कुरा अहिले पनि धेरै कलाकारलाई राजनीतिक दलले प्रयोग मात्र गरेका छन् ।’

विकास र निकासका लागि (राधिका हमाल, लोकगायिका  )
‘हामी व्यक्तिले केही गर्न सक्दैनौँ । विकास गर्न र राष्ट्रको सेवा गर्न राजनीतिमा आउनु जरुरी छ । सोचविचार गरी बुझेर राम्रो मान्छे राजनीतिमा आउँदा केही फरक पर्दैन । म राजनीतिमा भएँ भने गाउँलेले सीधै आफ्नो समस्या मसँग राख्न सक्छन् । मैले उनीहरूको समस्या सुल्झाउन भूमिका खेल्न सक्छु । राजनीतिविना विकास र निकास नहुने भएकाले पनि म राजनीतिमा लागेकी हुँ ।’

स्थापित नेतृ बन्छु (रेखा थापा, नायिका तथा नेतृ, राप्रपा)
‘कलाकारिता क्षेत्रमा लाग्दा नेपालको नम्बर १ नायिका हुन्छु भन्ने सोचेकी थिइनँ । तर, समय र परिस्थितिले मलाई त्यहाँसम्म डो¥यायो । म राजनीतिमा आएको धेरै लामो समय भएको छैन । संघर्ष गर्दै छु, कलाकारितामा स्थापित हुन गरेकोजस्तै मिहिनेत यता पनि गर्दै छु ।

कलाकारिताबाट समाजको चेतनास्तर मात्र वृद्धि गर्न सकिन्छ, तर समाज परिवर्तन गर्न कठिन छ । समाजमा विभिन्न समस्या, जटिलतासँग लड्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन र जनताका समस्या समाधान संवोधन गर्न मैले राजनीतिक यात्रा तय गरेकी हुँ । मलाई थाहा छ यो यात्रा सहज छैन । हिजो म कलाकारितामा रहँदा पनि मभन्दा धेरै सिनियर, कहलिएका, परिचित व्यक्ति त्यहाँ थिए । आज म त्यो स्थानमा पुग्न सफल भएकी छु र कलाकारिताको विकासका लागि आफ्नो स्थानबाट सक्दो गरिरहेकी छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *