भरतपुरमा पुनः मतदान सकियो, पहिलेभन्दा २७ मत कमि

चितवन, साउन २० । चितवन भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकिएको थियो ।
भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो ।  जम्मा ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५५ प्रतिशत मत खसेको छ ।

वैशाख ३१ गते भएको निर्वाचनमा २८९७ सय मत खसेको थियो । पहिलेभन्दा यसपटक मत बढी खस्ने अनुमान गरिएको भए पनि पहिलेभन्दा केही कम मत खस्यो ।

पहिलेभन्दा २७ मत कम खसेको बताइएको छ । सबै जोड्न बाँकी रहेकाले १, २ मत तलमाथि पर्न सक्ने निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् । शुक्रबार भएको मतदानमा २८७० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनपछि जेठ १४ गते राति मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।

यसैबीच निर्वाचन कार्यालयले आजैदेखि नै मतगणना सुरु गर्ने तयारी गरेको छ । तर राजनीतिक दलहरुबीचको छलफलपछि गणनाका बारेमा निर्णय हुने भएको छ ।
निर्वाचन कार्यालयले रातिदेखि नै मतगणना गर्ने गरी तयारी थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *