आन्तरिक कलह समाधान नगरे कांग्रेस विभाजन हुनसक्छः शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको असमझदारी, अविश्वास र समूहगत प्रतिस्पर्धा समयमै समाधान गर्न नसके काँग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् ।

बिपी स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा पार्टीको संस्थापन इतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी गगन थापासहित पार्टीको वर्तमान नेतृत्वले लिनुपर्ने बताए । उनले लोकतन्त्रका मूल्यमान्यता र लोकतान्त्रिक संस्थामाथिको हस्तक्षेपबाट जोगाउनु र मुलुकलाई सही दिशा दिन जिम्मेवार लोकतान्त्रिकवादी र राष्ट्रवादी राजनीतिक शक्तिहरू परिपक्व सहकार्यका साथ दूरदृष्टि राखेर अघि बढ्नु आजको आवश्यकता रहेको समेत बताए ।

उनले लोकतन्त्रमा विचारको भिन्नता स्वाभाविक भएपनि त्यसलाई विभाजनको आधार नभई साझा निष्कर्षमा पुग्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए । उनले बिपी कोइरालाले प्रतिपादन गरेकाे राष्ट्रिय मेलमिलापको नीति संवाद, सहिष्णुता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै काँग्रेसले त्यही कुरालाई आत्मसाथ गर्नुको विकल्प नरहेको बताए ।

डा. कोइरालाले बिपी कोइरालाले आफ्नो सम्पूर्ण जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र नागरिक अधिकारका लागि समर्पित गरेको स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वले लोकतान्त्रिक मूल्य–मान्यता, लोकतान्त्रिक संस्थाको संरक्षण तथा राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई पार्टीको एकता सुदृढ बनाउन आह्वान समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =