सोनम वाङचुकलाई मेदान्ता अस्पताल सार्न उच्च अदालतको अनुमति

काठमाडौं । दिल्ली उच्च अदालतले शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकलाई मेदान्ता अस्पतालमा स्थानान्तरण गर्न अनुमति दिएको छ ।
वाङचुककी पत्नी गीताञ्जली अंगमोले आइतबार दिल्ली उच्च अदालतमा उनलाई आफूहरूले रोजेको अस्पतालमा सार्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् ।
अदालतको आदेशपछि अंगमोले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै वाङचुकलाई मेदान्ता अस्पतालमा भर्ना गर्न अनुमति दिएकोमा उच्च अदालतप्रति आभार व्यक्त गरेकी छन् ।
उनले लेखेकी छन्, ‘माननीय दिल्ली उच्च अदालतप्रति मेरो हृदयदेखि आभार छ, जसले सोनम वाङचुकलाई हाम्रो रोजाइको अस्पताल मेदान्तामा भर्ना गर्ने पक्षमा आदेश दिएको छ ।’
यसअघि आइतबार नै दायर गरिएको निवेदनलाई बिदाको दिन भए पनि उच्च अदालतले तत्काल सुनुवाइका लागि स्वीकार गरेको थियो । तर त्यस दिन अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै तीन दिनभित्र अवस्थाबारे प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।
नीट परीक्षामा कथित अनियमितताको विरोधमा शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकले जुन २८ देखि दिल्लीको जन्तर–मन्तरमा अनशन सुरु गरेका थिए । शनिबार बिहान प्रहरीले उनलाई त्यहाँबाट हटाएको थियो ।
त्यसपछि उनको स्वास्थ्य अवस्थालाई लिएर अस्पताल स्थानान्तरणको माग गर्दै उनकी पत्नीले अदालतमा निवेदन दिएकी थिइन् ।








