३ प्रतिशत कर फिर्ता गर्ने सरकारको निर्णयको गगन थापाद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर लागू नगर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत थापाले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको बताएका छन् ।
उनले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने उल्लेख गर्दै धेरैका लागि निजी सेवा रोज्नु बाध्यता भएको बताएका छन् । निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार भएकाले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्या समाधान नगर्ने उनको धारणा छ ।
थापाले भनेका छन्, ‘निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् । धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो । निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार हो । सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले कहिल्यै पनि समस्याको समाधान गर्दैन । त्यसैले समता शुल्क लागू गर्नु समानताको नीति थिएन, बरु असमानतालाई अझ बढावा दिने व्यवस्था थियो ।’
सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको भन्दै उनले निर्णयलाई सही कदमको संज्ञा दिएका छन् ।
उनले उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
थापाले भनेका छन्, ‘सरकारले यही आर्थिक र सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको छ । यो निर्णय सही छ । उक्त निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रीतपूर्वक पूरा होस् । साथै सरकारले बिजुलीमा लगाइएको भ्याटजस्ता अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउँदै आमनागरिकको मर्म बुझोस् ।’








