शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

कञ्चनपुर । शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो ।

आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा रोक लगाइएको हो ।

आज दिउँसो १ः३० बजेको मापनअनुसार महाकालीको जलस्तर एक लाख २४ हजार ४५४ क्युसेक पुगेको छ ।

‘महाकाली नदीमा जलस्तर बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ’, उनले भने, ‘बिहानको भन्दा दिउँसोको मापनमा जलस्तर बढेको छ ।’

सुदूरपश्चिमका पहाड जिल्लामा निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।

सुदूर पहाडमा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साना नदी, खोला तथा नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =