प्रदेशमा कांग्रेससँगको सत्ता सहकार्य टुटे एमाले प्रतिपक्षमा बस्छ: तामाङ

काठमाडौं । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भए एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै तामाङले कांग्रेससँगको गठबन्धन कायम राख्नु नै एमालेको प्राथमिकता रहेको स्पष्ट पारे ।

उनले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली कांग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गर्दै त्यो विवाद छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

‘प्रदेश सरकारमा अहिले देखिएको समस्या नेपाली कांग्रेसको आन्तरिक विवादका कारण सिर्जना भएको हो । यो खटपट धेरै समय नरहला, छिट्टै समाधान हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

तामाङले कांग्रेसभित्र सहमति नभए पनि एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने बताए ।

‘हामी अहिले तुरुन्तै अरू कसैसँग हात मिलाएर सरकार बनाउने पक्षमा छैनौँ । हाम्रो प्रयास वर्तमान सरकारलाई जोगाउने हो । यदि अहिलेको सरकार टिकेन भने हामी सरकारमा रहँदैनौँ, प्रतिपक्षमा बस्छौँ । अरू दलहरूबीच सरकार बन्न सक्छ,’ उनले भने ।

तामाङले वर्तमान गठबन्धन कायम रहन नसके प्रदेशमा एमालेबाहेकका दलको सरकार बन्न सक्ने पनि बताए ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले कांग्रेस–एमाले सत्ता सहकार्य अन्योलमा परेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् भने कर्णालीमा कांग्रेसका सांसदहरूले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =