जनअसन्तुष्टि समयमै सम्बोधन नगरे विस्फोट हुन सक्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीतिमा बढ्दो विकृति र त्यसबाट उत्पन्न जनअसन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके त्यसले विस्फोटको रूप लिन सक्ने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले राजनीतिक प्रणालीप्रति बढ्दो असन्तुष्टिलाई सबैले गम्भीर रूपमा लिनुपर्ने बताए ।

उनले राजनीतिमा देखिएको विकृतिका कारण नागरिकमा निराशा बढ्दै गएको उल्लेख गर्दै त्यसलाई चिर्न नेपाली कांग्रेस स्वयं अग्रसर हुनुपर्ने बताए ।

‘राजनीतिमा चरम विकृति छ र त्यसले नागरिकमा चरम असन्तुष्टि बढाइरहेको छ । त्यो असन्तुष्टिलाई समयमै सम्बोधन गरिएन भने विस्फोट हुन्छ । यसलाई सम्बोधन गर्ने जिम्मेवारी अरू दलको मात्रै होइन, हाम्रो पार्टी नेपाली कांग्रेसको पनि हो,’ उनले भने ।

थापाले गुरु घिमिरेका लेख र पुस्तकहरूले नागरिकको वास्तविक भावना तथा नेपाली कांग्रेस रूपान्तरणको आवश्यकतालाई निरन्तर उठाउँदै आएको बताए ।

उनले घिमिरेले विगतमा ‘नेपाली कांग्रेसका युवाको उद्घोषः कि भिडौँ, कि छाडौँ’ जस्ता लेखमार्फत तल्लो तहका नागरिकको भावना उजागर गरेको उल्लेख गरे ।

सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई नागरिकमाझ पुगेर उनीहरूका समस्या सुन्न र समाधानका लागि सक्रिय हुन निर्देशन पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =