बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरा’ र ‘काला’ वर्षका रूपमा बितेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा महामन्त्री गुरु घिमिरेद्वारा लिखित ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले उक्त अवधिमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताए ।

उनले सत्ता र शक्तिको मोहमा राजनीतिक नेतृत्वले नागरिकका समस्या र राष्ट्रिय मुद्दालाई बेवास्ता गरेको आरोप लगाए ।

‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि अध्याँरा वर्ष रहे । ती काला दिन भए । जहाँ केवल सत्ता, सत्ता र शक्ति, शक्ति मात्रै हावी भयो । त्यसका लागि सम्पूर्ण कुराको तिलाञ्जली दिइयो,’ उनले भने ।

थापाले आफू पार्टीको सिद्धान्तमा अडिग रहेर संघर्ष गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै सिद्धान्तको राजनीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

उनले पछिल्लो १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको पनि बताए ।

नेपाली कांग्रेसलाई पार्टीको सिद्धान्त र नागरिकको अपेक्षाअनुसार पुनः लोकप्रिय बनाउन सबै नेता तथा कार्यकर्ता प्रतिबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए ।

थापाले नेपाली कांग्रेसले मुलुकलाई समृद्ध मात्र नभई समुन्नत बनाउने दिशामा काम गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =