कोरिया जान इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुला, ७ हजार २ सयको कोटा

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा ७ हजार २ सय जनाको कोटासहित आवेदन आह्वान गरेको हो ।

आवेदन आगामी जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ । परीक्षाका लागि आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ ।

भाषा परीक्षामा सहभागी हुन आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।

आवेदक फौजदारी अभियोगमा सजाय नपाएको, दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नपठाइएको तथा नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको हुनुपर्नेछ ।

त्यस्तै, दक्षिण कोरियामा ई–९ वा ई–१० भिसामा पाँच वर्ष वा सोभन्दा बढी बसेका व्यक्तिले आवेदन दिन पाउने छैनन् ।

ईपीएस कोरिया शाखाका अनुसार पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन हुनेछ । अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा दुई वर्षसम्म मान्य हुनेछ ।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय र वन क्षेत्रमा १ सय जनाको माग आएको शाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =