नाटक ‘जोलिन’ साउन ८ देखि मञ्चन हुँदै

काठमाडौँ। कथा घेराको कौसी थिएटर, टेकुमा आगामी साउन ८ गतेदेखि २९ गतेसम्म नयाँ नाटक ‘जोलिन’ मञ्चन हुने भएको छ।

यो नाटक, प्रेमका विविध आयामलाई प्रस्तुत गर्दै प्रेमले कसरी आश्रय र कैद दुवैको रूप लिन सक्छ भन्ने विषयलाई केन्द्रमा राखेको तयार पारिएको छ। मेलोड्रामा, त्रासदी, सङ्गीतमय नाटक, रहस्य तथा लोककथा र परिकथाका तत्त्व मिसाएर तयार गरिएको यस नाटकले प्रेम, चाहना, स्वामित्व र हिंसाबिचको मनोवैज्ञानिक यात्रालाई चित्रण गर्ने प्रयास गरेको छ।

नाटकमा मिरा खड्का, अनोज पाण्डे, निशान खत्री, जीवन गौतम, ऋषिकेश बस्याल, निशान्त महत र प्रकृति कार्कीको अभिनय रहने छ। थिएटरले सार्वजनिक गरेको पोस्टरमा यी पात्रहरूलाई ‘राष्ट्र प्रहरी माया विभाग’सँग जोडिएको अवधारणामार्फत प्रस्तुत गरिएको छ।

यो नाटकको कथालाई ‘राष्ट्र प्रहरी माया विभाग’ नामक काल्पनिक प्रहरी इकाइले अनुसन्धान गर्ने शैलीमा प्रस्तुत गरिएको छ। प्रेमसँग सम्बन्धित अपराधको अनुसन्धान गर्ने उक्त विभागले गीत, सङ्गीत र व्यङ्ग्यात्मक प्रस्तुतिमार्फत पात्रहरूको मनोवैज्ञानिक अवस्था, प्रेम, स्वामित्व, ईर्ष्या र हिंसालाई उजागर गर्ने प्रयास गर्छ।

नाटक मङ्गलवार बाहेक  हरेक दिन साँझ ५:१५ बजे प्रदर्शन गरिनेछ भने शनिवार दिउँसो १ बजे अतिरिक्त शो रहनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =